काठमाडौं । युरोपेली मुलुक इटालीले नेपाललाई स्वास्थ्य उपकरण तथा सामग्री उपलब्ध गराएको छ ।
युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत कोरोना महामारीको दोस्रो लहरविरुद्ध लड्न इटालीले उक्त स्वास्थ्य उपकरण तथा सामग्री नेपाललाई उपलब्ध गराएको हो ।
आज शुक्रबार नेपाल आइपुगेको ती उपकरण तथा सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इटालीका लागि मानार्थ कन्सुलर प्रतिमा पाण्डे र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
इटालीले उपलब्ध गराएका राहत उपकरणमा २० भेन्टिलेटर, ६ हजार आइसोलेशन गाउन र १० हजार प्रोटेक्टिभ कवरल्स् छन् ।
टिम युरोप मर्मलाई आत्मसाथ गर्दै जर्मनी र फ्रान्सका राजदूतहरू पनि उक्त समारोहमा उपस्थित थिए ।
“लामो समयदेखिको मित्र र साझेदारका रुपमा युरोपियन युनियन र यसका सदस्य राष्ट्रहरुले यस कठिन समयमा नेपाललाई यस्तो सहयोग प्रदान गरिरहेका छन् । यी स्वास्थ्य सामग्र्रीहरुले कोभिड फैलिनबाट रोक्न सहयोग पुर्याउने छ । यी सामग्रीहरु तथा जनस्वास्थ्यका उपायहरुले नेपालीहरुको अमूल्य जीवन बचाउँन मद्दत पुर्याउने छ”, नेपालका लागि युरोपियन युनियनकी राजदूत डेप्रेले भनिन् ।