• मंसिर १२ २०८१, बुधबार

नेकपाले दाङका असहाय कुमालको घर बनाइदिँदै

असार ११ २०७८, शुक्रबार

हेमन्त वली असार ११, दाङ ।
नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाको शान्तिनगर गाउपालिका–३ अँधेरे निवासी अति विपन्न अवस्थामा रहेका दलबहादुर कुमालको घर निर्माण गरिदिने भएको छ । अल्पसंख्यक जातिमा पर्ने कुमालको घर निर्माण कार्य सुरु गरिसकिएको छ ।

आज एक कार्यक्रमकाबिच घर निर्माण कार्यको शिलान्यास गरिएको छ । घर निर्माणको शिलान्यास गर्दै सो पार्टीका दाङ सेक्रेटरी प्रदिप वलीले पार्टी जनताका लागि श्रम र समयसँग एकाकार भएर अगाडी बढेको बताए ।

जनप्रतिनिधिले आफ्नो अनुकूलतामा विकास बजेट छुट्याई कमिसन खाने र भ्रष्टाचार गर्ने गरेको समाचार आइरहेका बेला उनले भने जनताको लागि निःशुल्क घर बनाइदिने बताए । उनले भने,‘अहिले हामी साना टहरा बनाउछौं, भोली ठूला र समृद्ध टहरा बनाउछौं ।’

विभिन्न उद्योगी र व्यवसायीको सहयोग, नेता–कार्यकर्ता, गाउँटोल र समाजको श्रमशक्तिबाट कुमालको घर निर्माण गरिदिने उनको बनाइ रहेको छ ।

एक फरक प्रसंगमा उनले सरकारमा जाने, केपीसँग एकता गर्ने, संसदीय चुनावमा भाग लिने जस्ता भ्रम छर्नेहरुसँग सतर्क रहन र कडा प्रतिवाद गर्न आग्रह गरे । उनले भने,‘संसदीय व्यवस्थालाई धुलोपिठो पारेर त्यसको चिहानमा वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना बाहेक हामीसँग अर्को कुनै सोच छैन ।’

कार्यक्रममा मन्तव्य राख्दै युवा संगठन नेपालका केन्द्रिय सदस्य वीरेन्द्रले संगठनका कार्यकर्ता निरन्तररुपमा जनताको सारथी बनेर जनश्रममा जोडिएको बताए । उनले भने,‘हामीले सुनेका छौं, स्थानीय युवा र बासिन्दाले पटकपटक वडाकार्यालय र स्थानीय नेताहरुलाई घर बनाइदिन अनुरोध गर्दा पनि वेवास्ता भएकोले आफ्नो पार्टी र संगठनले पहलकदमी लिएर कुमालको घर बनाइदिएका हौं ।’

घर निर्माण अभियानमा नेकपा निकट गणतान्त्रिक खेलकुद महासंघ दाङ अध्यक्ष विवेकले रु. ५ हजार, तुलसीपुर उपमहानगरपालिका वडा–९ निवासी व्यवसायी तथा समाजसेवी डिल्लीबहादुर केसीले रु. ८ हजार नगद सहयोग प्रदान गरेका थिए ।