• मंसिर १५ २०८१, शनिबार

चार मन्त्रीले देश हाँक्न सक्दैनन्, अदालतले उल्टो व्याख्या गर्‍यो : प्रधानमन्त्री ओली

असार ८ २०७८, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका काममा अदालतले एकपछि अर्को अवरोध गरेको टिप्पणी गरेका छन् ।

मंगलबार सर्वोच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन र विस्तार गर्ने प्रधानमन्त्रीको निर्णय बदर गर्न अन्तरिम आदेश जारी गरेपछि बेलुका बालुवाटारमा निवर्तमान मन्त्रीहरूसँगको भेटमा ओलीले अदालतले अफ्ठ्यारोमा पारेको र आफूले कामै गर्न नपाएको बताएका हुन् । उनले भने- ‘अदालतको निर्णयलाई मान्नैपर्छ। नमानी सुख छैन। तर, अदालतले एकपछि अर्को अवरोध गर्ने काम गरिहेको छ।’

उनले निर्वतमान मन्त्रीहरूलाई धैर्य गर्न पनि आग्रह गरे। प्रतिनिधि सभा विघटन मुद्दामा हप्ता, दश दिनमा फैसला आउने भन्दै उनले त्यसै अनुसार अघि बढ्ने बताए। ‘हप्ता, दश दिनमा त्यसमा (प्रतिनिधि सभा विघटन मुद्दा)त्यसपछि मात्र के गर्ने भन्ने टुंगो लाग्छ। साथीहरु धैर्य गर्नुहोला । अनुकूल, प्रतिकुल के निर्णय आउँछ त्यसै अनुसार अघि बढौंला’, प्रधानमन्त्रीको भनाइ उदृत गर्दै भेटमा सहभागी निवर्तमान एक मन्त्रीले बताए ।

प्रधानमन्त्री ओलीले अदालतले उल्टो व्याख्या गरेको पनि बताए। उनले मन्त्रिमण्डल विस्तार गर्न नपाउने भन्ने संसारमा कतै पनि नभएको दाबी गरे। ‘चार मन्त्रीले देश हाँक्न सक्दैनन्। अदालतले कोभिड नियन्त्रण गर्न भन्छ, आफैं फेरि स्वास्थ्य मन्त्री हटाउँछ। तपाईंहरु मन्त्रिमण्डलमा नरहे पनि हामी साथसाथै हुन्छौं’, प्रधानमन्त्रीको भनाइ उदृत गर्दै निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले भने।