काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लोपटक थप गरिएको निषेधाज्ञा आजदेखि कार्यान्वयनमा आएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको संयुक्त बैठकले आजदेखि एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेका थिए ।
कोरोनाभाइरस संक्रमण कम हुँदै गइरहेको भन्दै निषेधाज्ञा थप खुकुलो पारिएको छ । असार १४ गतेसम्म हुने यस निषेधाज्ञामा सवारी साधनमा जोररबिजोर प्रणाली लागु गरिएका छन् भने बारअनुसार पसल खोल्नका लागि निश्चित समय दिइएको छ । मोटरसाइकल, ट्याक्सी पनि जोरबिजोर लागु गरेर आजदेखि चलेका छन् भने सार्वजनिक सवारी साधन चल्न दिइएको छैन ।
आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसल खोल्न दिइने निर्णय भएको छ । साथै सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकूद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट पसल खोल्न पाइने भएको छ ।
खाद्यान्न, दूध, किताब पसल लगायतका बिहान ११ बजेसम्म मात्र खोल्न दिइनेछ । रेष्टुरेन्ट, होटलहरूले भने टेक अवेर होम डेलिभरी गर्न पाउनेछन् । निर्माण सामग्रीका पसलहरु बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने भएको छ ।
शनिबार अत्यावश्यक बाहेक अरू पसलहरू बन्द गर्नु पर्नेछ । सरकारी कार्यालय आलोपालो गरी खुला गर्नुपर्ने निर्णय भएको थियो ।