• बैशाख २१ २०८३, सोमबार

एमाले विवाद समाधान उन्मुख कि विमुख ?

असार ७ २०७८, सोमबार

काठमाडौं । नेकपा (एमाले)को आन्तरिक विवादले निरन्तरता पाएको झन्डै चार महिना पूरा भएको छ । त्यसयता पार्टीको विवाद समाधानका लागि विभिन्न चरणमा भेटवार्ता तथा छलफल भएपनि त्यसले हालसम्म कुनै मूर्तरूप लिन सकेको छैन ।

विवाद समाधानका लागि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता नभएको होइन । तथापि ओली र नेपालको भेटवार्ताले पार्टीभित्रको विवाद समाधान हुन नसकेपछि पछिल्लो समय एमाले दोस्रो वरियताका नेताहरूले सक्रियता देखाएका छन् ।

यसअघि उनीहरूले पार्टी एकता जोगाउने भन्दै कार्यदल गठन गरेका थिए । तर, उक्त कार्यदलले काम गर्न नसकेपछि एमाले दोस्रो वरियताका नेताहरूले व्यक्तिगत तथा समूहिक रूपमा छुट्टाछुट्टै भेटवार्ता र छलफल गर्ने गरेका थिए । तथापि उक्त भेटवार्ता र छलफलले सार्थकता पाउन नसकेपछि पछिल्लो समय एमालेका प्रभावशाली युवा नेताद्वय विष्णु पौडेल र घनश्याम भुषाल पार्टी भित्रको विवाद समाधान गर्ने ध्याउन्नमा लागेका छन् ।

पौडेल र भुषालले पार्टी एकतालाई टिकाइ राख्न दिनहुँ भेटवार्ता र छलफल गर्दै आएको बुझिएको छ । यी नेताद्वयको भेटवार्ता र छलफलबारे नजिकबाट नियालेका एमालेका एक नेताका अनुसार, ‘पौडेल र भुषालले नियमित भेटवार्ता गर्दै आएका छन् । दुवै जनाले दुवै पक्षका असन्तुष्टि र असहमतिबारे ब्रिफिङ गर्ने गरेको र आगामी दिनमा पार्टी एकताको विषयलाई लिएर के गर्ने भन्ने विषयमा छलफल केन्द्रित रहेको छ ।’

पार्टी एकताको लागि गरिएका सहमति र सहमति हुन नसकेको विषयमा उनीहरूको छलफल केन्द्रित रहेको बताइएको छ । यसअघि नै सहमतिका लागि सार्वजनिक गरिएको आह्वानको विषयमा थप गहन छलफल हुँदै आएको छ । तथापि नेताद्वय पौडेल र भुषालको अनौपचारिक भेटवार्ता र छलफल सकारात्मक र समाधान उन्मुख नै रहेको बुझिएको छ ।

यसअघि एमाले भित्रको विवाद समाधान गर्न दुवै समूहबाट ५÷५ जनाको एउटा कार्यदल गठन भएको थियो । यद्यपि त्यो कार्यदलले बैठक नै बसाल्न सकेन । उसले बैठक बसाल्न नसकेपछि एमाले महासचिव ईश्वर पोख्रेलले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल निवासमै पुगेर अनौपचारिक भेटवार्ता पनि गरेका थिए । तथापि नेपाल–खनालसँगको भेटवार्ताले पनि मूर्तरूप लिन नकेन ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले पार्टी एकता कार्यदलमा रहेका नेपाल समूहका वार्ता समितिका संयोजक नेता भीम रावलसहित ११ जनालाई पार्टीबाटै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका थिए । उनीहरूलाई कारबाही गरेपछि नेपाल समूहले कार्यदलको औचित्य समाप्त भएको भन्दै एक सातामा दुई पटकमात्रै बैठक बसालेको थियो । सो बैठकले पार्टी एकताका लागि सामान्य छलफल गरेपनि निष्कर्षमा भने पुग्न सकेको थिएन ।

त्यसयता एमाले दोस्रो वरियताका नेताहरूबीच राजधानीका विभिन्न होटलहरूमा अनौपचारिक भेटवार्ता र छलफल भएको थियो । उनीहरूको त्यो भेटले पनि सार्थकता पाउन नसकेपछि हाल आएर नेताद्वय पौडेल र भुषाल सहमतिका लागि छलफल गर्दै आएका छन् । पार्टी एकता विस्तारै भाँडिन थालेपछि उनीहरूले पछिल्लो समय यो सक्रियता बढाएका हुन् ।

पौडेल र भुषालबीचको भेटवार्ता ललितपुरको कुपन्डोलस्थित एक होटलमा हुने गरेको बुझिएको छ । भेटवार्तामा ओली समूहले विपक्षी दलहरूसँगको ध्रुवीकरण फिर्ता लिन अडान राखेको छ । ओली समुहले नेपाली काँग्रेसका समापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसँगको भेटवार्ताप्रति आपत्ति जनाउँदै आएको छ ।

आइतबार बुढानीलकण्ठस्थित काँग्रेस समापति देउवा निवासमा बसेको विपक्षी ध्रुवीकरणको बैठकमा नेपाल पनि उपस्थित भएका थिए । उनले उक्त बैठकमा ओली समूहसँग आफ्नो समूह तत्काल मिल्न नसक्ने बताएका थिए ।

ओली समुहले नेपाल समूहसँग एकताका लागि अघि सारेको ६ बुँदे प्रस्तावमा देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेको छ भने नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दा फिर्ता लिनुपर्ने माग राख्दै आएको छ । देउवालाई प्रधानमन्त्री बनाउनका राष्ट्रपति समक्ष बुझाएको निवेदनमा नेपाल समूहका २६ सांसदले हस्ताक्षर गरेका छन् भने २३ सांसदले प्रतिनिधि सभा विघटनविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् ।

नेपाल समूहले २०७५ जेठ २ कै अवस्थामा एमाले पार्टी सांगठानिक एवम् वैचारिक संगठनलाई पुनर्जीवन दिनुपर्ने चट्टानी अडान राखेको छ । तर, ओलीले पूर्वमाओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका स्थायी र केन्द्रीय कमिटीमा रहेका सदस्यलाई समेत समावेश गर्ने गरी २०७५ जेठ ३ गतेको पार्टी संरचनामा जान सकिने भन्दै यसअघि पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव आह्वान गरेका छन् । तर, नेपाल समूहले त्यसलाई स्वीकार्न सकेका छैन ।