काठमाडौं । भदौमा हुने महाधिवेशनमा फेरि सभापति पदमा उठ्ने तयारी गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले आज पनि केन्द्रीय सदस्यहरूसँग छलफल गर्दैछन् । शनिबारदेखि देउवाले प्रदेश अनुसार केन्द्रीय सदस्यलाई भेट गरेर आफू महाधिवेशनमा सभापति उठ्ने भएकोले सहयोग गर्न आग्रह गरिरहेका छन् ।
देउवानिकट एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार बुढानिलकण्ठमा बिहान ९ बजे देउवाले केन्द्रीय सदस्यहरूलाई छलफलमा आउन भनेका छन् ।
आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका आफूनिकट केन्द्रीय सदस्यहरूसँग देउवाले कुराकानी गर्न लागेका छन् । आइतबार देउवाले बागमती र गण्डकी प्रदेशका आफूनिकट केन्द्रीय सदस्यसँग कुराकानी गरेका थिए भने शनिबार प्रदेश नम्बर १ र २ का केन्द्रीय सदस्यसँग कुराकानी गरेका थिए ।
देउवाले पार्टी चलाएको र प्रधानमन्त्री समेत भएर अनुभव हासिल गरेकोले आफू पुनः एक कार्यकाल कांग्रेस नेतृत्वमा रहन चाहेको बताइरहेका छन् । कांग्रेसले भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेपछि देउवाले सक्रियता बढाएका हुन् । यसपटक सभापतिमा देउवा समूहकै दुई जना नेताले दावी गरिरहेका छन् ।
उपसभापति विमलेन्द्र निधि र संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले पनि सभापतिमा दाबी गरेका छन् । उनीहरू लामो समयदेखि देउवालाई सघाउँदै आएका थिए । आफ्नो समूहलाई एकजुट बनाउँदै लैजान देउवालाई उनीनिकटका केन्द्रीय सदस्यले सुझाव दिइरहेका छन् ।
निधि र श्रेष्ठलाई पनि साथै लिएर अघि बढे मात्रै महाधिवेशन जित्न सकिने र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको सहयोग पनि लिनुपर्ने सुझाव केन्द्रीय सदस्यहरूले राखेका छन् ।
देउवाले सबैको कुरा सुनेर आफ्नो समूहभित्र छलफल गरी सभापतिमा उम्मेदवारी दिनेबारे औपचारिक घोषणा गर्ने बताइरहेका छन् ।