• बैशाख २१ २०८३, सोमबार

मर्स्यांदी नदीमा पानीको बहाव घटेन, नदी क्षेत्र उच्च जोखिममा

असार ६ २०७८, आईतवार

काठमाडौं । मर्स्यांदी नदीमा पानीको बहाव नघट्दा जोखिम बढेको छ ।

हिमाली जिल्ला मनाङको चामे क्षेत्रमा मस्र्याङदी नदीमा पानीको बहाव नघट्दा जोखिम बढ्दै गएको स्थानीयले बताएका छन् ।

एकसातादेखि पानीको सतह माथिसम्म आएको र यसले झन् जोखिम बढाएको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए । उनका अनुसार जेठ ३१ गते सोमबार साँझदेखि परेको भीषण बर्षाका कारण नदीमा बाढी आएपछि नदीको बहाव बढ्दो अवस्थामा छ ।

शनिबार हुम्डेमा आधा घण्टा थुनिएपछि पानीको सतह झन् बढेको उनले बताए । ‘पानी परिहेको छ । बाढी पसेदेखि पानीको सतह घटेको छैन । घट्छ की भन्यो घट्दैन । माथिल्लो मनाङ जाने बेलिब्रिज भन्दा माथिबाट पानी बगेको छ’ उनले भने, ‘पानी यसरी नै बढ्दै जाँदा झन् जोखिम बढ्ने देखियो । बाढीबाट विस्थापित भएका स्थानीय झन् त्रसित भएका छन् ।’
चामेका पाल्साङ गुरुङका अनुसार पानीको सतह नघट्दा चिन्ता थपिएको छ । चामेबजार बाढीले उच्च जोखिममा पारेपछि कारागार कार्यालय मनाङको नवनिर्मित भवनमा बस्दै आउनुभएका उहाँले सतह देख्दा डर लागेको बताए ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार मर्स्यांदी नदीको पुल माथिबाट पानी बगिरहेको छ । पानीको सतह घटेको छैन । एकसाताको अवधिमा पनि पानीको सतह नघट्दा जोखिम थपिएको बताउनुभयो । उहाँले भन्नुभयो–‘मर्स्यांदीमा पानीको सतह बढ्दै गएको छ । घटेको छैन । बेलिब्रिजमाथिबाटै बग्न थालेको छ । आइतबारबाट त लेदोसहितको पानी आएको छ । यसले खतरा गर्छ की भन्ने लागेको छ ।’ चामे क्षेत्रमा शनिबार विहानदेखि नदी थुनिएपछि नेपाल प्रहरी, शसस्त्र प्रहरीले खुलाउने प्रयास गरिरहेका छन् । नदीले माथिल्लो क्षेत्रबाट ढुंगा, मुढा ल्याउँदा मर्स्यांदी थुनिएको हो । नदी खुलाउन प्रयास गरेपनि पानीको सहत बढ्दै जाँदा नसकिएको र उच्च जोखिममा परेको लामिछानेले बताए ।

प्रशासनले मर्स्यांदी नदीमा पानीको बहाव नघट्दा जोखिम बढेकाले नदी क्षेत्रको नागरिकलाई सतर्क रहन भनेको छ ।

नासों गाउँपालिकाको कार्यालय भवन बाढीले बगाएकाले कार्यालय सञ्चालनका लागि आवश्यक व्यवस्था गर्न सरकारलाई जानकारीसहित पत्र पठाउने निर्णय भएको छ ।

प्रारम्भिक तथ्यांक अनुसार मनाङमा बाढीका कारण ५३ घर पूर्ण क्षति भएको छ । करिव २०० घर उच्च जोखिममा रहेको छ ।