लगातारको वर्षासँगै आएको बाढीले मनाङ सदरमुकामको चामेमा मर्स्याङ्दी नदी थुनिएको छ । चामे बजारकै बीच भएर बग्ने घट्टेखोलाले बगाएर ल्याएको काठका मुडा र ढुंगामाटोको थुप्रोले मर्स्याङ्दी नदी थुनिएको हो ।
थुनिएको भागबाट मर्स्याङ्दी बगेपनि पानी निरन्तर परिरहेकाले बहाब भने बढेको छ । नदीको बहाब बढ्दै गएकाले चामेबजार जोखिममा रहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । उनका अनुसार अहिले नेपाली सेनामार्फत बम विष्फोट गराइ मर्स्याङ्दी खुलाउने तयारी भएको छ ।
थुनिएको मर्स्याङदी नदी खुलाउन हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लागि परेका छन् ।
घट्टेखोलाबाट बगेको बाढीले ढुंगामुढा बगाएर थुपारिदिएपछि चामेमा मर्स्याङ्दी नदी ताल बनेको छ । बाढीले चामेबाट माथिल्लो मनाङ जाने बेलिब्रिज समेत कटान गरेको बताइएको छ ।