कठमाडौं । माओवादी केन्द्र कपिलवस्तुका सदस्य दीपक पाण्डेको गोली हानी हत्या गरिएको घटनामा उनकै श्रीमतीको संलग्नता रहेको खुलेको छ । कपिलवस्तु नगरपालिका–१ का ३४ वर्षीय पाण्डेलाई जेठ ५ गते राति गोली हानिएको थियो । गोली प्रहारपछि पाण्डेलाई उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो ।
त्यहाँ उपचार हुन नसकेपछि जेठ १० गते राति हेलिकप्टरबाट काठमाडौं ल्याउने क्रममा पाण्डेको मृत्यु भएको थियो । उक्त घटनाका मुख्य योजनाकार ओमप्रकाश यादव र महिमा पाण्डे रहेको खुलेको छ । श्रीमानलाई मार्न महिमा पाण्डेले यसपटक र पहिले पनि विभिन्न मानिस प्रयोग गरिरहेको पत्ता लागेको छ ।
मुख्य योजनाकार कपिलवस्तु–१ का ३९ वर्षीय यादव जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशसभा सदस्य सहसराम यादवका स्वकीय सचिव हुन् । यादव जनता समाजवादी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनका लुम्बिनी प्रदेश अध्यक्षसमेत हुन् । यो घटनामा श्रीमतीसहित संलग्न ११ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । ५ गते राति ११ बजे मोटरसाइकलमा रहेका तीन चार जना व्यक्तिले पाण्डेलाई गोली हानेका थिए ।
यादवले आफूले घटनामा प्रयोग गरिएको लु१६प ३४९७ नम्बरको पल्सर मोटरसाइकल चलाएका थिए । मोटरसाइकलको पछाडि रहेका रमजान साह मुसलमान र साकिर अलि पखियाले पाण्डेलाई दुई वटा पेस्तोलबाट एक–एक गोली हानेका थिए ।
पखियाले कटुवा पेस्तोलबाट एक राउन्ड गोली चलाएका थिए भने मुसलमानले अटोमेटिक पेस्तोलबाट एक राउन्ड गोली चलाएका थिए । प्रहरीका अनुसार उनीहरू तीन जनाको साथबाट हतियार, गोलीहरू बरामद भएका छन् । कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार यादवको साथबाट पेस्तोल, म्यागजिन, २२ म्याग्नमको ६८ राउन्ड गोली बरामद भएको छ ।
यस्तै, मुसलमानको साथबाट मेड इन युएसए पेस्तोल एक थान, म्यागजिन र ८ राउन्ड गोली बरामद भएको छ । उनले पाण्डेलाई मार्न यादवबाट एक लाख रुपैयाँ लिएका थिए ।
उनले पाण्डेको गतिविधि निगरानी गर्ने, हतियार किन्ने, साथमा राख्ने काम गरेका थिए । यस्तै, पखियाले पाण्डेलाई मार्न ओमप्रकाशबाट बैनावापत सुपारी लिने, हतियार लिने र साथमा राख्ने काम गरेका थिए । उनले गोली चलाएको पेस्तोल पूर्णवीर पाल्पालीको घरमा लुकाएर राखेका थिए ।
यो घटनामा अन्य विभिन्न सात जना व्यक्ति पक्राउ परे । पक्राउ परेका व्यक्तिहरूमा कपिलवस्तु नगरपालिका–१ आनन्दबागका ३५ वर्षीय पूर्णवीर पाल्पाली, वडा नम्बर २ का सद्दाम हुसेन खान, यशोधरा गाउँपालिका–४ का ज्ञानेन्द्रकुमार पाण्डेय, सोही ठाउँका राधेश्याम चौधरी, कपिलवस्तु–५ का श्रीराम कुर्मी, कपिलवस्तु १ का नरसत अली र वडा नम्बर २ का प्रवीण गुप्ता रहेका छन् ।
घटनापछि डिएसपी भण्डारीको नेतृत्वमा ‘माइक ह्वीस्की’ नाम दिएर प्रहरीले अनुसन्धान सुरू गरेको थियो । अनुसन्धान अनुसार पक्राउ परेका सातमध्ये पाल्पालीले घटनामा प्रयोग भएको पेस्तोल लुकाउने काम गरेका थिए ।
पाण्डेयले प्रतिवादी राधेश्याम चौधरीलाई भारतबाट हतियार ल्याई बिक्री गरेका थिए ।
यस्तै, सद्दाम हुसेन खान, राधेश्याम चौधरी र कुर्मीले साकिर अलि पखियालाई हतियार खरिद बिक्री गर्न सहयोग गरेका थिए ।
नरसत अलीले मुख्य योजनाकार यादवबाट एक लाख नगद लिएर हतियार खरिद गरी उनलाई दिएका थिए । डिएसपी भण्डारीका अनुसार ओमप्रकाश र दीपक पाण्डेबीच मनमुटाव पाण्डेकी श्रीमती महिमा पाण्डेबीचको अनैतिक सम्बन्धका कारण भएको हो । त्यो सम्बन्ध थाहा पाएयता विगत पाँच वर्षदेखि ओमप्रकाश र दीपकबीच मनमुटाव थियो । यो सम्बन्धबाट दीपक चिढिएपछि महिमाले नै पटकपटक उनलाई मार्ने योजना बनाउन थालेको देखिएको छ ।
‘महिमाले दीपकलाई मार्न पक्राउ परेका यी सात व्यक्तिहरूलाई दुईतीन वर्षदेखि प्रयोग गर्दै आएको देखिएको छ, पटकपटक नै मार्न बैना दिएको र असफल भएको देखिन्छ,’ भण्डारीले भने, ‘अन्तिम पटकको प्रयास सफल भएको देखिएको छ ।’
पक्राउ परेकालाई कर्तव्य ज्यानमुद्दा, हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको छ । पक्राउ परेका व्यक्तिमध्ये साकिर अली पखिया हातहतियार तथा खरखजना मुद्धामा २०६४ साल वैशाख ५ गते पक्राउ परेका थिए । त्यसबेला उनी दुई वर्ष जेल बसेर छुटेका थिए ।