काठमाडौँ /
उत्तरी छिमेकी चीनले सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक लगाएको छ। चिनियाँ सरकारी निकायले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै सगरमाथा आरोहण बन्द गरिएको जानकारी दिएको छ। नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही आरोहीमा संक्रमण देखिएपछि चीनले उच्च सावधानी अपनाउँदै आरोहणमा रोक लगाएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चीनले यो सिजनमा ३८ जनालाई सगरमाथा आरोहणको अनुमति दिएको जसमध्ये सबै चिनियाँ नागरिक थिए । तर, नेपालले भने यो सिजनमा ४०८ जनालाई आरोहण अनुमति दिएको थियो ।
महामारीका कारण गत वर्ष भने दुवै देशले सगरमाथा आरोहणको अनुमति दिएका थिएनन् । मे महिना सगरमाथा आरोहणका लागि सबैभन्दा उपयुक्त मानिन्छ । केही आरोहीले यो साता आरोहण गरेका छन् भने केहीले यो महिनाको अन्त्यमा आरोहण गर्ने अपेक्षा गरिएको छ ।
चीनले यसअघि सगरमाथाको चुचुरोमा विभाजन रेखा कोरेर आफ्नो तर्फबाट आरोहण गरेका आरोहीलाई नेपालतर्फबाट आरोहण गरेकाहरुसँग मिसिन नदिने योजना बनाएको थियो ।