काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच देखिएको अन्तरविरोधले पार्टी विभाजन नहुने बताएका छन् । शनिबार जारी स्थायी समिति बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अन्तरविरोधका कारण पार्टी विभाजन नहुने बताएका हुन् ।
‘बाहिर आएका मतभेदका विषयहरू पार्टीभित्र छलफल गर्छौं । अन्तरविरोधबारे बाहिर बाहिर मिडिया र अन्य मान्छेले हल्ला गरेका छन्, त्यो पुरा हुँदैन । अध्यक्ष प्रचण्डकै नेतृत्व पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ’, उनले भने ।
यस्तै उनले विचार मिल्ने दलहरूसँग पार्टी एकता हुने दाबी समेत गरेका छन् । एकताका लागि सबैभन्दा नजिकको दल नेकपा एकीकृत समाजवादी, नेकपा लगायत दलहरूसँग नियमित छलफल र बहस भइरहेको पुनले जिकिर गरे ।
‘समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकता गर्नका लागि पार्टीको एजेन्डा नै बनाएका छौँ । बैठकको अन्तिममा एउटा निष्कर्षमा पुग्छौँ । विचार मिल्नेसँग प्रवृत्ति मिल्नेसँग मिलेसम्म एकताबद्ध हुँदै जान्छौँ । स्वभाविक रुपमा एकीकृत समाजवादी, नेकपा लगायतसँगै पार्टी निकट हुन्छ’, पुनले भने– ‘कतिपय मानिसले एकता हुन लागे भनेपछि धेरै भ्रम फैलाउने गर्छन् । एकता हुन नदिने कोसिस गर्छन् । नियमित छलफल र बहसबाट मतभेद साँघुराउँदै जान्छौँ । हामीले नियमित काम गरिरहेका छौँ । हामी धेरै हल्लाखल्ला नगरी छलफल अघि बढाइरहेका छौँ ।’