• फाल्गुन २९ २०८२, शुक्रबार

साम्बालामा होटलमा बर्थडे मनाइरहेका चक्रे मिलनसहित जन्मदिन मनाउन पुगेका ५० जनासहित पक्राउ

श्रावण १६ २०८२, शुक्रबार

काठमाडौं ।  चक्रे मिलन भनिने मिलन गुरुङलाई प्रहरीले गएराति महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको छ ।

गएराती बाँसबारी रोडमा रहेको होटल साम्बालामा पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  उनलाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार, चक्रे मिलनका समर्थकहरुले दुई दिनअघिबाटै जन्मदिन पार्टी मनाइरहेका थिए । त्यसक्रममा बिहीबार दिउँसो उनी पशुपति क्षेत्रमा देखिएका थिए ।

ठमेलमा केही र्‍यापरहरुसँग समेत देखिएका उनले एकैठाउँमा २० वटासम्म केक काटेको प्रहरी बताउँछ ।

अपराह्न उनको समूहले चक्रे मिलनलाई गाडीहरुको लावालस्करसहित महाराजगञ्जसम्म स्कर्टिङ गरेको सूचना काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालय दुवैलाई पुगेको थियो ।

त्यस्तोमा मध्यरातिसम्म उनको समूहले होटलमा बसेर होहल्ला गरेको सूचना प्रहरीले पाएको थियो । त्यसपछि काठमाडौं प्रहरीका एसएसपी विश्व अधिकारीले माथिल्लो तहसम्म कुरा गरे । र, सार्वजनिक स्थानमा हल्लाखल्ला गरेको आरोपमा चक्रे मिलन पक्राउ परे । उनीसँगै जन्मदिन पार्टी मनाउन पुगेका करिब ५० जना ‘आपराधिक पृष्ठभूमि’का व्यक्तिहरु पनि पक्राउ परे ।

तर, उनीहरुविरुद्ध के कसुरमा प्रहरीले मुद्दा चलाउँछ भन्ने टुंगो लागेको छैन ।

गत वर्ष माघ उपत्यका अपराध अनुसन्धान कार्यालयले सामाजिक सञ्जाल टिकटकमा ‘तरवारले केक काटेको’, ‘खुकुरी, मसल प्रदर्शन गरेको’ भन्दै ७ जनालाई पक्राउ गरेको थियो ।