प्राय: बच्चा किन जिद्दी हुन्छ भनेर बुझ्न जरुरी छ — उसलाई सुन्ने बानी बसाल्नु पर्दछ । यसका लागि जिद्दी किन गरिरहेको छ के कारणले जिद्दी गरेको बुझ्न जरुरी छ । कहिलेकाहीँ उसलाई ध्यानाकर्षण चाहिएको, डर लागेको वा उसले आफूलाई असुरक्षित महशुस गरिरहेको हुन सक्छ।
बालबालिकासंग धैर्यपूर्वक कुरा गरिदिनुपर्दछ । आदेश दिने भन्दा पनि सकारात्मक कुराकानी गर्नुहोस्। उसलाई “तिमीले किन यस्तो गर्यौ?” भन्दा “हामी यो अरू राम्रो तरिकाले कसरी गर्ने?” भनेर बुझाउनुस्।
जिद्दी बच्चालाई विकल्प दिनुपर्दछ । — जस्तै, “तिमी राति ८ बजे नुहाउँछौ कि ८:३० बजे?”यसले उसले आफ्नो निर्णय गर्ने महसुस गराउँछ।
बालबालिकाको साना राम्रो व्यवहारलाई तुरुन्त प्रशंसा गर्नुहोस्। कहिलेकाहीँ उसलाई रुचि लाग्ने कुराले पुरस्कार दिन सकिन्छ।
आफूले देखाएको व्यवहार नै बच्चाले सिक्छ। त्यसैले व्यवहार आफैं देखाउनु पर्दछ । यदि तपाईं आफैं धेरै चिच्याउनुहुन्छ वा जिद्दी गर्नुहुन्छ भने बच्चाले पनि त्यसलाई पछ्याउँछ।
बालबालिकालाई आफ्नो काम गर्न थप समय दिनुहोस् । उसलाई आफ्ना काम आफैं गर्न प्रोत्साहित गर्नुहोस्, हतार नगर्नुस्। बच्चा धेरै दबाबमा हुँदा पनि जिद्दीपन देखाउँछ।
बालबालिकासंग सधैं प्यारो मात्रै नबनिनुस्, कुनै कुरामा सीमा तोक्नुपर्छ। र भनेको नमानेमा सजिलो तरिकाले “नयाँ कुरा” सिकाउनुहोस् — जस्तो कि केही समय खेल्न नपाउनु, मनपर्ने ग्याजेट नपाउनु आदि।
सबैभन्दा बढी बालबालिकालाई चाहिने प्यार, धैर्य र निरन्तरता हो। बच्चाको जिद्दी स्वभाव एकैदिनमा हट्दैन। विस्तारै सुधार हुन्छ। त्यसैले माया प्रेमले सिकाउनुहोस् ।