काठमाडौँ । आज संघीय संसदका सात समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका ६ र राष्ट्रिय सभाको एक समितिको बैठक बस्दैछ ।
आज राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । त्यस्तै प्रतिनिधिसभाका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।बिहान ११ बजे बस्ने राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफलको कार्यसूची रहेको समितिले जनाएको छ ।
त्यस्तै बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफलको कार्यसूची रहेको छ । त्यस्तै बिहान ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी बिहान ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपाल सरकारद्वारा किसानहरूलाई अनुदान उपलब्ध गराउने रासायनिक मलको आयात तथा बिक्री वितरणका लागि निर्धारण भएको कोटाका सम्बन्धमा छलफलको कार्यसूची रहेको छ । त्यस्तै बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयमा छलफलको कार्यसूची रहेको समितिले जनाएको छ ।
त्यसैगरी बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१ र सुनकोशी मरित डाइभर्सन आयोजनाको बारेमा छलफलको कार्यसूची रहेको छ । त्यस्तै अपराहन्न १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुने कार्यसूची रहेको समितिले जनाएको छ ।