काठमाडौं । बौद्ध जागरण संघको आयोजनामा सञ्चालन गरिएको १० दिने ‘उद्घोषणा तालिम’ को समापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न संघ–संस्था, गुम्बा, राजनीतिक दल, सञ्चारमाध्यम, शिक्षक, प्रशिक्षक तथा तालिमका सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता बौद्ध जागरण संघका अध्यक्ष काइला लामा तामाङले गरेका थिए भने प्रमुख अतिथि रूपमा थानकार देछेन गुम्बाका प्रमुख खाङसेर रिन्पोछे थिए ।
समापन समारोहमा संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका पूर्वमन्त्रीहरू, विभिन्न गुम्बाका प्रमुख, धार्मिक अगुवा, सञ्चारकर्मी, समाजसेवी, शिक्षक तथा प्रशिक्षकहरूले मन्तव्य व्यक्त गर्दै तालिमको महत्वबारे प्रकाश पारे ।
तालिमका प्रशिक्षक आशाकाजी महर्जनलाई विशेष सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको थियो । साथै, तालिम सफलतापूर्वक सम्पन्न गरेका सहभागीहरूलाई पनि प्रमाणपत्र वितरण गरिनुका साथै शुभकामना र आशिर्वाद प्रदान गरिएको थियो ।
कार्यक्रमको अन्त्यतिर नेपाली संस्कृति झल्काउने ‘देवी नृत्य’ प्रस्तुति गरिएको थियो । कार्यक्रम संघका कोषाध्यक्ष भीम लामा तामाङले सञ्चालन गरेका थिए । धन्यवाद ज्ञापनसहित कार्यक्रम विधिवत रूपमा समापन गरिएको थियो ।