नारायणगढ । पूर्व—पश्चिम राजमार्गको चितवनको डडुवामा भएको दुर्घटनामा ७ जनाको मृत्यु र १८ जना घाइते भएका छन् ।
राप्ती नगरपालिका वडा नम्वर ४ खहरेपुल स्थित डडुवामा धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०३–००१ज. २९९ नम्बरको इभी गाडी ठक्कर खाँदा सो दुर्घटना भएको हो ।
चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा मकवानपुर हटिया ३ बस्ने वर्ष ५५ को सोमप्रसाद रुपाखेती, मकवानपुर हेटौंडा ५ बस्ने वर्ष ५३ का मैयाकुमारी न्यौपाने पहाडी छन् ।
यस्तै मृत्यु हुने ५ जनाको सनाखत हुन सकेको छैन । मृत्यु हुनेमा गर्भवती महिला पनि छन् ।
यस्तै घाइतेहुनेहरूमा मकवानपुर हेटौडा उपमहानगरपालिका—३ बस्ने वर्ष १६ का सक्षम थापा, मकवानपुर हेटौडा उपमहानगरपालिका १२ बस्ने वर्ष ३२ को सिंहवीर घलान, मकवानपुर हेटौडा उपमहानगरपालिका ४ बस्ने वर्ष ३१ का विष्णु लम्साल, मकवानपुर हेटौडा उपमहानगरपालिका ८ बस्ने वर्ष ३४ की गङ्गा घलान छन् ।
यस्तै झापा गौरादह नपा ९ बस्ने वर्ष अन्दाजी ६५ कि सुशीला बराल, झापा गौरादह नगरपालिका ९ बस्ने वर्ष अन्दाजी ६७ की उमा बराल, कञ्चनपुर बेलौरी नगरपालिका ४ बस्ने वर्ष ४८ का वीरबहादुर जैसी, रुकुम पश्चिम आठबिस्कोट नगरपालिका ९ बस्ने वर्ष ३० का सन्देश ओली छन् । त्यस्तै दुर्घटनामा परी घाइते भएका १८ जनाको अहिले चितवनका विभिन्न अस्पतालमा उपचार भइरेहको छ ।