• फाल्गुन ३० २०८२, शनिबार

तनहुँ, मकवानपुर र झापाबाट हत्यामा संलग्न रहेका तीन जना पक्राउ

असार ६ २०८२, शुक्रबार

काठमाडौं । तनहुँ, देवघाट गाउँपालिका–५ बद्रीमुक्ती टोल बस्ने ३२ वर्षीय प्रकाश पौडेलको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने पाल्पा तानसेन नगरपालिका–८ नयाँपाटी घर भएका २८ वर्षीय बुद्ध सारू मगर र मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ हटिया घर भएका ४३ वर्षीय राम लामा रहेका छन् ।

बिहीबार बिहान आफ्नै घर नजिकै सडकमा प्रकाशलाई लडिरहेको अवस्थामा देखि स्थानीयहरूले उपचारको लागि भरतपुर सरकारी अस्तपाल चितवन लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनाको अनुसन्धानको क्रममा राम, बुद्ध र हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय जोगी भनि बोलाउने पुरूषले प्रकाशलाई कुटपिट गरेको भन्ने खुल्न आएपश्चात इलाका प्रहरी कार्यालय आँबुखैरेनी र इलाका प्रहरी कार्यालय देवघाटबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न मध्ये राम र बुद्धलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ । मकवानपुर, थाहा नगरपालिका–१ कुन्छाल बस्ने ५० वर्षीया तुलमाया गोपालीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय बिमलमान गोपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिमलमानले धारिलो हतियार खुकुरी प्रहार गर्दा तुलमायाको घटनास्थलमै मृत्यु भएको भन्न खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पालुङ, इलाका प्रहरी कार्यालय भिमफेदी समेतबाट खटिएको प्रहरीले उनलाई थाहा नगरपालिका–३ थानाबजारबाट पक्राउ गरेको हो ।

झापा, कमल गाउँपालिका–४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्य बिक्रम लिम्बुको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३७ वर्षीय देबेन्द्र लावतीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । देबेन्द्रले विवादको क्रममा बिहीबार साँझ ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका सूर्य बिक्रमको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।