कास्की । माओवादी केन्द्र पोखरा महानगर कमिटीको अधिवेशनबाट अध्यक्षका उम्मेदवार हरिप्रसद भण्डारीको प्यानल निर्वाचित भएको छ। माओवादी उपमहासचिव वर्षमान पुनको समर्थन प्राप्त भण्डारी नेतृत्वको पदाधिकारी प्यानलबाट उपाध्यक्षमा अर्जुन मल्ल, पुष्पकमल ढुंगाना र देवीमाया अधिकारी निर्वाचित भएका छन्।
त्यस्तै, सहसचिवमा चन्द्रबहादुर गुरूङ र कोषाध्यक्षमा अनिल परियार निर्वाचित भएका छन्। कमिटीको सचिवमा सूर्यप्रकाश तिवारी भने सर्वसम्मत निर्वाचित भएका थिए।
माओवादी केन्द्रको पोखरा महानगर कमिटीमा उपमहासचिव पुन र जनार्दन शर्माको समर्थन पाएको दुइटा प्यानल चुनावमा होमिएका थिए। जनार्दन प्यानलबाट भने कोही पनि निर्वाचित भएनन्।
सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि लोकतान्त्रिक प्रक्रिया अवलम्बन गरेर निर्वाचनमार्फत् नेतृत्व टुंगो लगाएको माओवादी केन्द्रले जनाएको छ। नगर कमिटी गठन गर्न माओवादी केन्द्रले पोखरा महानगरका ३३ वडा वडाबाट १/१ जना, महिला, दलित, दलित महिला, जनजाति, युवा लगायत क्लस्टरबाट गरी ९९ सदस्यीय कमिटी गठन गर्नुपर्नेमा ३ जनाले मनोनयन दर्ता नगरेको जनाएको छ।
अहिले निर्वाचित ८६ सदस्यबाट महानगर कमिटी अध्यक्षसहित पदाधिकारीमा दुइटा प्यानल बनाएर निर्वाचिन भएको थियो। माओवादी केन्द्रीय सदस्य राजकाजी गुरुङ ‘करण’ का अनुसार निर्वाचित कमिटीले १० प्रतिशत सदस्य मनोनयन गर्न पाउने बताए। महानगर कमिटीको अधिवेशनको उद्घाटन जेठ २७ गते अध्यक्ष प्रचण्डले गरेका थिए ।