विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाखको बजेट ल्याएको छ ।
आइतबार कोशी प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले चालु आर्थिक वर्षको तुलनामा ६० करोड बढीको बजेट ल्याएका हुन् । कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ३५ अर्ब २७ करोड ९३ लाख बजेट ल्याएको थियो ।
कोशीमा चालु आर्थिक बर्षको आर्थिक वृद्धिदर ३.३४ प्रतिशत हुने अनुमान छ ।
कोशीमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा स्वास्थ्य क्षेत्रमा ३ अर्ब ५१ करोड ७१ लाख, कृषि, उद्योग तथा सहकारी क्षेत्रमा २ अर्ब १८ करोड, पर्यटन वन तथा वातावरण क्षेत्रमा २ अर्ब ९७ करोड ६६ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै शिक्षा, खेलकुद क्षेत्रमा २ अर्ब ५ करोड ५५ लाख, उर्जा, सिचाई र खानेपानी क्षेत्रमा ४ अर्ब ७३ करोड ३० लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै कोशीमा सडक, पुल, सहकारी तथा भवन निर्माणका लागि १० अर्ब ५७ करोड ५१ लाख बजे विनियोजन गरिएको छ ।
कोशी प्रदेशको बजेटमा आन्तरिक राजश्वबाट ५ अर्ब ५० करोड, राजश्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड ६० लाख, संघको वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख समपुरक अनुदानबाट ३९ करोड १७ लाख र विशेष अनुदानबाट ५५ करोड ७२ लाख गरि राजश्व र वित्तीय हस्तान्तरणबाट कुल ३२ अर्ब ७४ करोड ९९ लाख र रोयल्टीबाट ३५ करोड ६ लाख खर्च बेहोरिने बजेटमा उल्लेख छ । बाँकी अपुग ३ अर्ब १३ करोड मौज्जातबाट बेहोरिने उल्लेख छ ।