• जेष्ठ ३१ २०८२, शुक्रबार

पठाओ नेपालले बाल अस्पताल निर्माणमा सहयोग गर्न ‘राइड फर अ कज’ अभियान’ सुरु

जेष्ठ २८ २०८२, मंगलवार

काठमाडौं । पठाओ नेपालले बाल अस्पताल निर्माणमा सहयोग गर्ने उद्देश्यले ‘राइड फर अ कज’ अभियान’ सुरु गरेको छ । डा.भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई सहयोग गर्ने उद्देश्यले यही जेठ २७ गतेदेखि असार २ गतेसम्म उक्त अभियान सञ्चालन गरिएको पठाओ नेपालकि मार्केटिङ हेड सुरक्षा हमालले जानकारी दिइन् ।

आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बञ्चित बालबालिकालाई सहयोग गर्ने उद्देश्यले उक्त अभियान सुरु गरेको उनको भनाइ छ ।

अभियान अन्तर्गत प्रत्येक राइडबाट प्राप्त हुने रकमबाट केही हिस्सा बाल अस्पतालका लागि छुट्याइनेछ ।
‘यसरी छुट्याइने रकम राइडरबाट नभइ कम्पनीको आम्दानीबाट कट्टा गरिनेछ’, हमालले भनिन्,‘पठाओ नेपालको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभियान सञ्चालन गरिएको हो ।’

अभियानबाट संकलन हुन रकम बालमैत्री अस्पताललाई दिइने छ । उक्त रकमबाट अस्पतालको भवन निर्माण र अस्पतालको उपकरण खरिदलगायतमा खर्च हुनेछ । डा कोइराला नेतृत्वमा रहेको उक्त अस्पताल नेपालमा बाल स्वास्थ्य सेवा सुलभ र प्रभावकारी बनाउने दिशामा कार्यरत संस्था हो ।

डा. कोइरालाले काठमाडौँसहित सातवटै प्रदेशमा बाल अस्पताल निमर्माणको अभियान अघि सारेका छन् । कोसी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल निर्माण भइसकेको छ । अब भने काठमाडौँसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुनेछ ।