काठमाडौँ । सप्तकोशी नदीमा विपद् उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका २ जना गोताखोर बेपत्ता भएका छन् ।
उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका हुन् ।
सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता कालीदास धौवजीका अनुसार बिहीबार दिउसो सवा ३ बजे दुई गोताखोर सप्तकोशीमा बेपत्ता भएका हुन् ।
सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बाढीपहिरोबाट विपदमा परेकाहरूलाई उद्धार गर्नका लागि सप्तकोशीमा अभ्यास गरेको थियो ।
अभ्यासका क्रममा सप्तरीको हनुमाननगर कांकालिनी नगरपालिका-१ कोशी ब्यारेजको ५४ र ५५ नम्बरको ढोकाको उत्तरतर्फ अभ्यासका क्रममा बगेर बेपत्ता भएका हुन् ।
उनीहरूको खोजीका लागि सुनसरी र सप्तरीबाट प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।