काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि नेपाल प्रहरीलाई जुनसुकै बेला जेसुकै हुन सक्छ भन्ने मानसिकतामा तयार रहन निर्देशन दिएका छन् ।
बुधवार सामाखुसीस्थित नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री लेखकले प्रहरीलाई सतर्क र चनाखो रहन आग्रह गरे। उनले भने, “जुनसुकै बेला जेसुकै हुन सक्छ भन्ने मानसिकताका साथ बस्नुपर्छ। मनसुनजन्य विपद्को पूर्वानुमान गर्न सकिन्छ, तर भूकम्प र आगलागीको पूर्वानुमान सम्भव हुँदैन।”
गृहमन्त्रीले अहिले मुलुक मनसुनको पूर्वसन्ध्यामा रहेकाले बाढी र पहिरोको जोखिम उच्च रहेको बताउँदै त्यसको तयारीमा सम्पूर्ण सुरक्षा निकाय विशेष गरी नेपाल प्रहरी सधैँ तयार रहनुपर्ने उल्लेख गरे।
“विपद् व्यवस्थापन नेपाल प्रहरीको कानुनी जिम्मेवारी हो। प्रहरीको उपस्थिति सर्वसाधारण तहमा मजबुत छ। जनतामा प्रहरीप्रति विश्वास बढ्दो छ र विपद्को समयमा पहिलो सहारा प्रहरी नै हुने भएकाले जनभावनालाई सेवाको भावनासहित सम्बोधन गर्नुपर्छ,” गृहमन्त्री लेखकले भने।
उनले प्रहरीलाई २४ सै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिँदै, ‘बाढी, पहिरो र डुबानको जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि आजैदेखि तयारी थाल्नुपर्छ, ’भने। साथै, ‘समयमै पूर्वसूचना प्रवाह गर्नु र उद्धारका लागि तयारी अवस्थामा रहनु जरुरी छ,उनको भनाइ थियो।
गृहमन्त्री लेखकले जेष्ठ २८ गतेबाट मनसुन सक्रिय हुने अनुमान रहेको जनाउँदै त्यसअगावै सबै पूर्वतयारी पूरा गर्न निर्देशन दिए।
उनले यस वर्ष नेपाल प्रहरीको बजेट अघिल्ला वर्षहरूभन्दा वृद्धि भएको उल्लेख गर्दै, तलब, पोसाक तथा महँगी भत्तामा कुनै समस्या नआउने स्पष्ट पारे।
साथै, नेपाल प्रहरीको ऐन संशोधनका विषयमा संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा चाँडै छलफल सुरु हुने जानकारी पनि दिए।