• बैशाख ३० २०८२, मंगलवार

आज २५६९औँ बुद्ध जयन्ती देशभर मनाइँदै,गुम्बाहरुमा बौद्ध दर्शनार्थीको भिड

बैशाख २९ २०८२, सोमबार

काठमाडौं । आज २५६९औँ बुद्ध जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।

इशापूर्व ५६३ मा रूपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

इशापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उनले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरेका थिए । बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । गौतम बुद्धलाई हिन्दू धर्मावलम्बीहरूले भगवान् विष्णुका दश अवतारमध्ये एक अवतार मान्छन् भने एसियाको तारा पनि भनिन्छ ।

दुःखलाई नास गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएको ज्ञान हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए ।

यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरूलाई प्रवचन (धर्मदेशना) का माध्यमबाट बाँडेका थिए । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इशा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण (मृत्यु) प्राप्त गरे ।

बुद्ध जयन्तीको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।