• चैत्र ३ २०८१, सोमबार

कालेबुङमा मष्टको जाँत सम्पन्न, मुख्यमन्त्रीको अभिव्यक्ति सच्याउन माग

चैत्र २ २०८१, आईतवार

दार्जिलिङ । विश्व मष्ट धर्म महासंघ भारतको आयोजनामा फाल्गुन पूर्णिमाका दिन कालेबुङको डेलो पेरिसरमा मष्टको पूजा तथा लुगो ठड्याउने जाँत सम्पन्न भएको छ । मष्ट परम्परामा मष्टको पूजा, मष्टको पैठ, मष्टको जाँतको ठुलो महत्व रहेको छ ।
मष्टको जाँत प्रायः पूर्णिमाको दिन गर्ने चलन अनुसार दार्जिलिङको कालेबुङमा आयोजना गरिएको विश्व मष्ट धर्म महासंघका सचिव टेकबहादुर थापाले बताए । बाजागाजासहित धामी काँप्दै नेजा, ध्वजा सहित लुगोमा पर्गालो हालेर विभिन्न फागहरु गाउँदै पूजास्थलमा पुगेको जाँतले मष्ट पूजा सम्पन्न गरी त्यस ठाउँमा मष्टको लुगो हाल्ने काम गरेको थियो ।

उक्त पूजामा दाह्रेमष्ट र दुधेमष्टको एकसाथ परम्परागत विधिबाट पूजा सम्पन्न भएको थियो । मष्ट परम्पराको पूजा विधि अनुसार मष्टलाई आव्हान गर्ने, मष्टलाई माण्डुमा राज गराउने र मष्टलाई सगुन दिने काम मष्टको पूजामा गरिन्छ । मष्टको जाँत वर्षमा एक पटक आयोजना गरिने परम्परा रहिआएको छ ।

मष्टको जाँत नेपालको सुदुरपश्चिम क्षेत्रमा मुख्य गरी मनाउने गरिन्छ । खस संस्कृतिको पर्वको रुपमा मष्टको जाँतलाई हेरिन्छ भने मष्टको लुगो हाल्ने संस्कृति मष्ट परम्पराको महत्वपूर्ण पर्व हो ।

धामी विधिबाट सुसम्पन्न भएको उक्त जाँत पर्वमा मष्टका धामी एवम् धर्मगुरु अरुण छेत्रीले पुषेऔंशी अर्थात् पुष १५ लाई खस दिवसका रुपमा मनाउन सम्पूर्ण खसहरुलाई आव्हान गरेका थिए । पुषेऔंशी खसहरुका प्रमुख पर्वहरु शुरु हुने दिन हो । उक्त दिनबाट ठुली भैली, भुओ पर्व, चेलतिहार, भाई पिठायो, पुषेती जाँत जस्ता खस पर्वहरु शुरु हुने दिन भएकाले उक्त दिनलाई खस दिवसका रुपमा मनाउन उचित हुने धारणा धामीले राखेका थिए ।

सो अवसरमा हालै सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेले सिक्किममा भएको एक कार्यक्रममा खसहरुका कुनै पनि साँस्कृतिक पर्वहरु नभएको भनि दिएको अभिव्यक्तिप्रति पनि मष्टका धामी अरुण छेत्रीले खेद ब्यक्त गरेका थिए ।

‘खसहरुका दर्जन भन्दा बढी मौलिक पर्वहरु छन्, नेपाली समाजमा भैलो खेल्ने परम्परा पनि खसहरुकै नासो हो, मंसिरे पूर्णेका दिन एकदिन र पुषेऔंशीबाट पन्ध्र दिन खेलिने भैलो नै अहिले तिहारमा खेलिन्छ, पुषेऔंशीबाट खेलिने भुओ पर्व पनि खसको हो तर यति धेरै खसका पर्वहरु हुँदाहुँदै मन्त्री गोलेले खस जातिका कुनै पर्व छैनन् भनि दिएको अभिव्यक्तिप्रति म प्रतिवाद गर्दछु,’ धामी छेत्रीले भनेका छन् ।

गत फ्रेब्रुवरी २६ का दिन सिक्किममा भएको खसहरुको एक कार्यक्रममा मुख्य मन्त्री गोलेले दिएको उक्त अभिव्यक्तिलाई लिएर अहिले सिक्किमका खसहरुमा पनि असन्तुष्टि पैदा भएको छ भने उनीहरुले मुख्यमन्त्री गोलेलाई सो अभिव्यक्ति सच्याउन आग्रह गरेका छन् ।