काठमाडौं । महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ ।
साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेका हुन् । साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने, बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले गरेको थियो ।
गुठी संस्थान र कोषले साधुसन्तको वर्गीकरण गर्दै त्यसैअनुसारको खर्चको व्यवस्था गर्दै आएको छ । नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको छ ।
वर्ग अनुसार २ सयदेखि नौ हजारसम्म दक्षिणा दिइएको गुठी संस्थानका सहायक प्रशासक वैकुण्ठप्रसाद रेग्मीले जानकारी दिए । साधुसन्त बिदाइकै लागि गुठी संस्थानले छुट्याएको बजेटमा आधा रकम थप गर्दै कोषले साधुसन्तको बिदाइ गर्ने गरेको उनले बताए ।
महाशिवरात्रिमा पशुपतिनाथमा दर्शनका लागि आएका साधुसन्तलाई पशुपतिनाथका विभिन्न स्थानमा राखी खाने, बस्ने एवं धुनीका लागि काठको व्यवस्था गरिएको थियो ।
महाशिवरात्रिका लागि विभिन्न स्थानबाट आएका साधुसन्तलाई फागुन कृष्ण औँशीका दिन दक्षिणासहित बिदाइ गर्ने प्राचीन परम्परा रहेको जनाइएको छ ।