• आश्विन ४ २०८१, शुक्रबार

१० इञ्च लामो सियोबाट जिब्रो छेडेर थिमी-पशुपति-थिमी यात्रा

आश्विन ३ २०८१, बिहीबार

काठमाडौं ।  मध्यपुर थिमीमा जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ। थिमी–५ का वीरेन्द्रभक्त श्रेष्ठले बुधबार बेलुकी जिब्रो छेडाएका हुन्। आश्विन शुक्ल पूर्णिमाको अवसरमा गरिने यो परम्परालाई स्थानीय भाषामा  ‘येंया पुन्हिया मेय् प्वाः खनेगु’ भनिन्छ।

बेलुकी ८ बजे मध्यपुर थिमी –५ का वीरेन्द्रभक्त श्रेष्ठले मध्यपुरथिमि दिगुटोलस्थित दिगु भैरव अगाडिको डबलीमा करिब १० इञ्च लामो सियोबाट जिब्रो छेडाएर कमिनायबाट ४० किलोको महादीप  बोकेर उनले पशुपतिनाथ मन्दिरसम्मको यात्रा गरे।

श्रेष्ठले जिब्रो छेडाएर थिमिबाट यात्रा गर्नुभई निगु पुखुः, लाय्कूहुँदैं क्वालाखु (बालकुमारी)स्थित थास्मा गणेशको दर्शन गरी तछु टोल, सुँगा टोल (विष्णुवीर), इन्द्रायणी, नेपाल कोरियामैत्री नगरपालिका अस्पताल, सिद्धिकाली मन्दिर, सिद्धिकाली चोक, सानोथिमि, मनोहरा खोला पुल, पुरानो सिनामंगल, खहरेचोक, एअरपोर्ट पछाडिको सडक, गुहेश्वरी मन्दिर हुँदै पशुपति नाथ दर्शनका लागि पुगेका थिए।

आज राति करिब १२ः३० बजेको समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पशुपतिमा जात्राको स्वागत गर्दै पशुपति क्षेत्र विकास कोषले तयार पारेको चाँदीको कचौरामा सुनको चम्चाले जिब्रो छेडाएका श्रेष्ठको जिब्रोमा परम्पराअनुसार पशुपति मन्दिर परिसरमा शुद्ध तोरीको तेल राखिदिए।