• मंसिर १२ २०८१, बुधबार

किन मनाइन्छ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ?

फाल्गुन २४ २०७९, बुधबार

यसपाली पनि आज श्रमिक महिला दिवस मनाइँदै छ । यसपालीको महिला दिवस ११३औं महिला दिवस हो । नेपाल र विश्वभरी नै यो दिवस विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । ८ मार्च अथवा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस उत्पीडित महिलाहरुको विजयको प्रतीक हो । ८ मार्चले संसारका सबै उत्पीडित महिलाहरूलाई मुक्ति र स्वतन्त्रताका लागि सङ्गठित र सशक्त रूपमा आन्दोलनमा सहभागी हुने ठूलो शिक्षा दिएको छ ।

सन् १८५७ मा अमेरिकी महिलाहरूले न्यूयोर्कमा रहेको कपडा मिलमा आफूहरूलाई पनि पुरुषसरह समान श्रम र समान पारिश्रमिक पाउनुपर्ने माग राखी इतिहासमै पहिलोपटक हड्तालमा उत्रिएका थिए । यो विश्वकै पहिलो सशक्त र सङ्गठित महिला विद्रोह थियो । र, त्यही सङ्घर्षको निरन्तरता स्वरूप सोही मिलमा ३ वर्षपछि सन् १८६० को मार्च ८ मा पहिलो महिला सङ्गठन स्थापना गरेको इतिहास छ ।

केही वर्षपछि फ्रान्सको पेरिसमा सन् १८८९ को मार्च ८ कै दिन भएको श्रमिक महिलाहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा सर्वप्रथम महिला नेतृ क्लारा जेट्किनले महिला–पुुरुषबीचको समानता र अधिकारबारे सम्बोधन गर्नुभएको थियो । यस्तै सन् १८९७ को मार्च ८ नै दिन अमेरिकाको औद्योगिक सहर न्यूयोर्कमा ज्याला र १० घन्टाभन्दा बढी कामको विरोधमा जुलुस, आमसभा र हड्ताल गरेका थिए ।

सन् १९०७ मा जर्मनीको स्टेटगार्डमा महिला मताधिकारकोे माग राखी श्रमिक महिलाहरूले सशक्त प्रदर्शन गरे । ८ मार्च सन् १९१० मा डेनमार्कको राजधानी कोपेन हेगनमा दोस्रो अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलन सम्पन्न भयो । सो सम्मेलनमा विश्वयुद्धको खतरा बारे विरोध, दैनिक कार्यविधि, आमा र बच्चाको सुरक्षा एवम् अन्य आर्थिक, सामाजिक, साँस्कृतिक निर्णयहरूका साथै, नेतृ क्लारा जेट्किनको प्रस्ताव अनुसार बहादुरीपूर्ण सङ्घर्षको सम्झनामा ८ मार्चको ऐतिहासिकतालाई स्थापित गर्न उक्त दिनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउनुपर्ने निर्णय भयो ।

र, सन् १९११ देखि ८ मार्चलाई विश्वभरका श्रमजीवी महिलाले एउटा क्रान्तिकारी धार बोकेको दिन तथा अधिकारका लागि सङ्घर्षको मैदानमा उत्रिएको र समानता प्राप्तसमेत गरेको दिनका रूपमा मनाउन सुरु भयो । त्यसैले सन् १९१७ मा सोभियत सङ्घमा सर्वहारावर्गले सत्ता प्राप्त गरेपछि महिलाहरूले विजय जुलुस प्रदर्शन गरेका थिए । यसरी सुरु भएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपालमा पनि मनाउने गरिएको छ ।

वास्तवमा विगत केही वर्षदेखि नेपाली महिला आन्दोलनले विभिन्न घुम्ती र मोडहरू पार गर्दै आज नितान्त नयाँ र बेग्लै अवस्थामा आइपुगेको छ । अहिले खासगरी तीन प्रकारका महिलाहरू हाम्रो समाजमा देखिएका छन् । जसमा एकथरी महिला पु?षको नजरमा आफूलाई कसरी सुन्दर देखाउने भन्ने चिन्ताले ग्रसित छन् । उनीहरूलाई सडकमा अर्धनग्न पहिरनमा सजिएर, ओठ, आँखा, कपाल वा शरीरका विभिन्न भागमा रङ्रोगन गरेर हिँड्नमै फुर्सद छैन ।

उनीहरूको अधिकांश समय शृङ्गारपटारमै बित्ने गर्दछ । यस्तो समूहलाई महिला शोषण, दमन र उत्पीडन भनेको कुन चरीको नाम हो, थाहा नै छैन । अर्को प्रकारका महिला सङ्घ–सङ्गठनमा आबद्ध छन्, जसले झिनो–मसिनो स्वरमा उत्पीडनको विरोध त गर्छन् तर त्यसको जरो कहाँ छ र कसरी उखेल्ने भन्नेबारे उदासीन देखिन्छ ।

बेलाबखतमा केही सुधारवादी नारा लिएर आउँछन् र बाटोमा हिँड्दा–हिँड्दै थाक्छन् । अब अर्को प्रकारको महिलाको ठूलो हिस्सा छ, जसले आमूल परिवर्तनका लागि मुक्ति आन्दोलनमा ज्यान फालेर लागेको छ । आफ्ना निजी सबैखाले स्वार्थलाई तिलाञ्जली दिएर पुरुष साथी सँगसँगै हरक्षेत्र र पाइलामा अगाडि बढिरहेका छन् ।

अधिकार मागेर होइन, खोसेर लिनुपर्छ भन्ने मान्यतालाई अँगाल्दै आफ्नो भाग्यको फैसला आफै गर्न डटिरहेका छन् । जो रुढीग्रस्त पुरानो सङ्कुचित मानसिकतादेखि धेरै टाढा छन् । यी तीन प्रकारका महिलाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कसरी मनाउलान् त ? पहिलो थरी महिलाको नामै नलिए पनि हुन्छ, उनीहरूलाई आन्दोलनको कुनै वास्ता छैन । दोस्रो थरी महिला पनि अर्थ न वर्थ गोविन्द गाई’ गर्नेहरू हुन् जसले आजसम्म महिला अधिकारका सवालमा खासै जोडले काम गर्न सकेका छैनन् ।

मात्र औपचारिकता निभाएका छन् । तर, तेस्रो प्रकारका महिलाहरूले भने यो दिनलाई विशेष महत्व दिएर विभिन्न खाले कार्यक्रमका साथ मनाउने गरेका छन् । यिनीहरूको नारा भने व्यावहारिक रूपमा पुष्टि हुँदै पनि गएको छ । माओवादी जनयुद्धकालदेखि नै छोरीलाई पनि सम्पत्ति दिने काम सुरु भएको छ । पैतृक सम्पत्तिमा समान अधिकार नै पहिलो आधार हो भन्ने नारालाई पुष्टि गर्दछ । त्यसैगरी आमाको नाममा पनि नागरिकता लिन पाउने निर्णय गरेको छ । यस्ता उल्लेखनीय उपलब्धि हासिल गर्दैछ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा बेला–बेलामा केही प्रगतिशील वा क्रान्तिकारी धारका महिला नेतृहरूले सम्पूर्ण महिला दिदी–बहिनीहरूलाई यो ८ मार्चलाई विद्रोहको रूपमा मनाउन अपील पनि गरेका छन् । जसरी १६औँ शताब्दीमा फ्रान्सका राजा चाल्र्स प्रथमलाई जनताले बन्चरोले काटेर राजतन्त्रको अन्त्य गरी लोकतन्त्र स्थापना गरेका थिए, त्यसैगरी २१औँ शताब्दीमा पनि नेपाली जनता, सम्पूर्ण उत्पीडित महिलाहरू, नेकपा माओवादी र सात राजनीतिक
दलको संयुक्त सहमतिले आन्दोलन जुन उचाइमा पुगेको थियो । सबै मिली राजतन्त्ररूपी बूढो रुखमा जसरी विद्रोहको मशाल झोसियो र अन्त्यमा निरङ्कुश राजतन्त्रलाई मसानघाटमा पुर्याउन सफल भए नेपाली जनता ।

हो, त्यसैगरी सम्पूर्ण उत्पीडित महिला समुदाय पनि महिला मुक्तिका लागि आन्दोलनमा सशक्त रूपमा अगाडि बढाउनै पर्छ । किन कि वर्ग–विभाजित समाजमा जबसम्म वर्गीय रूपमा मुक्त हुँदैन, तबसम्म लैङ्गिक मुक्ति सम्भव छैन । त्यसैले अहिलेको जल्दोबल्दो आवश्यकतालाई महत्व दिँदै अधिकार प्राप्तिका लागि सङ्घर्षमा जुट्न आवश्यक छ । इतिहास बङ्ग्याउने तत्वका विरुद्ध मुक्तिकामी महिला सधैँ सजग बन्न जरुरी छ । नेपाली महिलाले यस दिवसलाई २०१६ सालदेखि मनाउँदै आएका छन् तर पनि माग र अधिकारका कुराहरू अझैसम्म पनि सुनिश्चित हुन सकिरहेका छैनन् ।

समान कामको समान ज्यालाको अधिकार, पैतृक सम्पत्तिमा समान अधिकारजस्ता कुराहरू अझै पनि कार्यान्वयन हुन सकिरहेका छैनन् । आधा आकाश आधा धर्ती ओगटेका महिलाहरूलाई अझैपनि दोस्रो दर्जाको नागरिक सरह मानिएको छ । सामाजिक संरचना, साँस्कृतिक, आर्थिक र मनोविज्ञानमा निकै जरा गाडेको सामन्ती पितृसत्तात्मक उत्पीडनको अन्त्य हुन सकेको छैन । त्यसकारण, समग्र महिला अधिकारको विषय बनाई यो दिवसलाई मनाउनु पर्छ । अवला नारीको रूपबाट होइन, साहसी र हिम्मतिला बलिदानीका गाथाहरूलाई जोड्दै अग्रगामी सोचका साथ अगाडि बढ्नुपर्छ ।
यतिबेला देशमा गणतन्त्रको सुनौलो बिहानीको प्रवेश भइरहेको छ तर पनि यथास्थितिवादी तत्वका विरुद्ध एक भई अगाडि बढ्न नसकेमा ८ मार्च दिवसको कुनै अर्थ रहनेछैन ।

८ मार्चलाई अब विजयको प्रतीकका रूपमा हरेक ठाउँमा शङ्खघोष गरी लैजानु आवश्यक छ । घरेलु हिंसा, दाइजो प्रथा अन्त्यको घोषणा मात्रै होइन, यसलाई व्यवहारमा लागू गरी लैजानुपर्छ । महिला मुक्तिका लागि महिला आन्दोलनमा बलिदान दिने महिलाहरूको त्याग र समर्पणलाई समेट्न आवश्यक छ । यो दिवसलाई प्राप्त भएका थोरै उपलब्धिमा रमाउने मात्र होइन, अरू थप अधिकार पाउनका लागि सङ्घर्ष गर्नेतिर अघि बढ्ने प्रेरणाका साथ मनाउन आवश्यक छ ।

नेपालमा गणतन्त्र आएको भएपनि आज नेपाली महिलाहरु कमाउनकै लागि स्वदेशमा रोजगार नपाएर विदेशी भूमीमा पसिना बगाउन बाध्य छन् । यस्तो अवस्था किन र कसी भयो ? महिलाहरुमाथि दैनिक हिंसा भइरहेको छ । यसको कारण के हो ? भनेर खोजी गर्ने र यसको कारण पत्ता लगाएर थप उपलब्धिका लागि एकजुट हुनुको विकल्प छैन ।