काठमाडौं । हिमाली आदिबासी समाज, नेपालको आयोजनामा भएको थकाली भाषा वर्ण निर्धारण कार्यशाला कार्यक्रम सम्पन्न भएको छ । थकाली मातृभाषालाई लोप हुन बाट बचाई मूल खम्बाको रुपमा भाषा वर्ण तयार पार्नु यस कार्यशाला कार्यक्रमको उद्देश्य हो।

चार दिनसम्म सञ्चालित थकाली मातृ भाषा कार्यशालामा भाषा विज्ञहरु पूर्णप्रसाद तुलाचन, थासाङग गाउँ पालिका १३ मुखियाका सल्लाहकार अशोक गौचन, मनोज शेरचन, रामकृष्ण शेरचन, सूर्वण गौचन, एसो कान्ति भट्टचन, शुशिला शेरचन, विपिन शेरचन, कल्पना भट्टचन, पे्रमा शेरचन र ललित गौचन रहनु भएको थियो । भाषा विज्ञ पूर्णप्रसाद तुलाचनले लामो समयदेखि थकाली भाषाको किताबहरु लेख्दै आउनु भएको छ।

त्यसैगरी संघसंस्थाका रुपमा थकाली समाज सेवा नेपाल केन्द्र, थाकाली समाज सेवा काठमाडौं क्षेत्र, थकाली अनुसन्धान केन्द्र, तेह्रमुखिया, थकाली महिला परिवार काठमाडौं क्षेत्र रहेको छ।

४ दिने थकाली भाषा वर्ण निर्धारण कार्यशाला मार्फत थकाली भाषीहरु तथा भाषाशास्त्रीहरुको सल्लाह–सुझाव अनुसार थाकखोला क्षेत्रमा बोलिने थाकाली भाषा लेखन मानकीकरणका लागि पुस्तिका तयार पारिएको हो । यस थकाली भाषा लेखन निर्देशिका को मुख्या तीन ओटा उद्देश्यहरु छन् जसमध्ये थाकखोला क्षेत्रमा बोलिने थकाली भाषीहरुबीच भाषा लेखनमा एकरुपता ल्याई लेखपढ गर्न उत्साहित बनाउनु, नेपाली भाषामा लेखपढ गर्न बानी परेकाहरुलाई आफ्नो मातृभाषा थकाली मा सजिलोगरी लेखपढ गर्न सहयोग पुरयाउनु र थकाली भाषीहरुका लागि औपचारिक तथा अनौपचारिक शिक्षामा पठन–पाठन गर्न सक्ने बनाउनु उद्देश्य रहेको छ।

परामर्शदाताः डा. नेत्रमणी दुमी राई (भाषाशास्त्री) रहनु भएको थियो भने हिमाली आदिबासी समाज, नेपालका अध्यक्ष छिङ चिप्पा ल्होमीले चार दिने कार्यक्रमको सहजकर्ताको भूमिका निभाउनु भएको हो । थकाली भाषा वर्ण कार्यशाला अवधीभर सहयोगीको रुपमा टेसि डेमा भोटे, मेन्जु भोटेले निभाउनु भएको थियो भने कार्यक्रमको समापन थकाली महिला संघका अध्यक्ष कल्पना भट्टचनले गर्नु भएको थियो । थकाली भाषा वर्ण कार्यशालाको समन्वय थकाली महिला संघले गरेको हो। ४ दिनसम्म सञ्चालित कार्यशाला थकाली चुल्हो, महाराजगन्ज, काठमाडौंमा भएको थियो।

















