नेपाल मगर संघले आगामी जेठ ८, ९ र १० गते काठमाडौंमा आफ्नो १३औँ महाधिवेशन आयोजना गर्दैछ । यस महाधिवेशनले आगामी चार वर्षका लागि मगर समुदायको साझा प्रतिनिधित्व गर्ने नयाँ नेतृत्व चयन गर्नेछ । नेपाल मगर संघ एक गैरराजनीतिक, गैरधार्मिक तथा सामाजिक संस्था हो, जसको मुख्य उद्देश्य मगर समुदायलाई संगठित गर्नु, आपसी एकता सुदृढ गर्नु तथा भाषा, संस्कृति, इतिहास र पहिचानको संरक्षण एवं प्रवर्द्धन गर्नु हो ।
साथै, राज्यका निकाय र अन्य जातीय समुदायसँग सहकार्य तथा समन्वय गर्दै सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउनु हो । यो कार्यमा नेपाल मगर संघले भूमिका निर्वाह गर्दै आएको छ । विविधताले भरिएको नेपाली समाजमा राष्ट्र निर्माणमा मगर समुदायको योगदान विगतदेखि नै महत्वपूर्ण रहिआएको छ र भविष्यमा पनि रहिरहने अपेक्षा गर्न सकिन्छ ।
मगर समुदाय नेपालको तेस्रो ठूलो जातीय समुदाय मात्र होइन, राष्ट्र निर्माण प्रक्रियासँग प्रत्यक्ष रूपमा जोडिएको समुदाय पनि हो । हिमालय सभ्यताको विकासदेखि आधुनिक नेपाल निर्माणसम्म मगर समुदायले निर्वाह गरेको भूमिकालाई इतिहासबाट अलग गर्न सकिँदैन । नेपाली हुनुमा गर्व गर्ने जोकोहीका लागि “मगर” शब्द केवल एउटा जातीय पहिचान मात्र नभई साहस, योगदान र गौरवसँग जोडिएको नाम हो ।
तर नेपालको इतिहास सधैं समानतामूलक रहन सकेन । विक्रम संवत् १९०२ को कोतपर्वपछि मुलुक निरंकुश शासन र सामाजिक विभेदतर्फ धकेलियो । त्यसपछि विक्रम संवत् १९१० मा लागू गरिएको मुलुकी ऐनले नेपाली समाजलाई जातीय तथा सामाजिक रूपमा विभाजित गर्यो । तागाधारी, मतवाली र तथाकथित छुवाछुतको वर्गीकरणले समाजभित्र असमानता र विभेदलाई संस्थागत बनायो । यसले नेपाली समाजलाई अनेक तहमा विभाजित गर्यो र शासक वर्गलाई चुनौतीविहीन बनायो ।
यही पृष्ठभूमिमा विक्रम संवत् १९३० को दशकमा भएको लखन थापामगरको विद्रोहलाई केवल राजनीतिक वा सैन्य विद्रोहका रूपमा मात्र हेर्न सकिँदैन । त्यो विद्रोह सामाजिक विभेद, अन्याय र शोषणविरुद्धको प्रतिरोध पनि थियो । यद्यपि उक्त विद्रोहलाई दमन गरियो तर त्यसले उत्पीडित समुदायको चेतना र प्रतिरोधको इतिहासलाई जीवित राख्यो । मुलुकी ऐनले एक शताब्दीभन्दा बढी समय नेपाली समाजलाई प्रभाव पार्यो र त्यसको असर आज पनि विभिन्न स्वरूपमा देख्न सकिन्छ ।
मगर समुदायभित्रको जातीय चेतना लामो समय दबाइएको भए पनि पूर्ण रूपमा समाप्त भएको थिएन । लाङ्घाली समूहजस्ता अनौपचारिक प्रयासहरू हुँदै मगरहरूको सामूहिक संगठनात्मक चेतना विकसित हुँदै गयो । २०४६ सालपछिको बहुदलीय राजनीतिक वातावरणले यस चेतनालाई संस्थागत रूप दिने अवसर प्रदान गर्यो, जसको परिणामस्वरूप नेपाल मगर संघ सशक्त सामाजिक संस्थाका रूपमा स्थापित भयो ।
नेपाल मगर संघले नेपाली समाजमा जातीय पहिचान र सांस्कृतिक चेतनाको नयाँ बहस आरम्भ गर्यो । हेमबहादुर पुन, गोरेबहादुर खपाङ्गी, एम.एस. थापा, बमकुमारी बुढामगर, सुरेश आले, नविन रोकामगर लगायतका व्यक्तित्वहरूले मगर समुदायलाई संगठित, जागृत र आत्मपहिचानप्रति सचेत बनाउन महत्वपूर्ण भूमिका खेले ।
यस अवधिमा मगर समुदायभित्र केवल जातीय चेतनाको विकास मात्र भएन, मुलुकी ऐनले निर्माण गरेको विभेदकारी भाष्यलाई चुनौती दिने विभिन्न वैचारिक र सांस्कृतिक अभियानहरू पनि सञ्चालन भए । “मगर समुदाय बुद्धिष्ट हो” भन्ने अभियान त्यसैको एक उदाहरण थियो, जसले परम्परागत राज्यद्वारा थोपरिएको “मतवाली” पहिचानलाई पुनर्विचार गर्ने प्रयास गर्यो ।
तर समयसँगै नेपाल मगर संघभित्र राजनीतिक विचारधाराको प्रभाव बढ्दै गयो । जातीय मुक्ति राजनीतिक परिवर्तनबाट मात्र सम्भव छ भन्ने सोचका कारण संघको नेतृत्व राजनीतिक वैचारिकीसँग नजिकिन थाल्यो । परिणामस्वरूप, सामाजिक संस्था र राजनीतिक स्वार्थबीचको सीमारेखा धमिलिँदै गयो । यसले मगर समुदायभित्र नेपाल मगर संघप्रतिको अपनत्व कमजोर बनाउने अवस्था सिर्जना गर्यो । राजनीतिक दलहरूको हस्तक्षेप बढ्दै जाँदा संघ क्रमशः साझा सामाजिक संस्थाभन्दा पनि दलनिकट संरचनाजस्तो देखिन थाल्यो ।
आजको अवस्थामा नेपाल मगर संघको नेतृत्व चयनमा मगर समुदायको सामूहिक इच्छाभन्दा राजनीतिक दलहरूको प्रभाव बढी देखिन थालेको आरोप सुनिन्छ । जबकि सामाजिक संस्था र राजनीतिक दलका उद्देश्य, कार्यशैली र भूमिका मूलभूत रुपमा फरक हुन्छन् । राजनीतिक दलहरू सत्ता प्राप्तिका लागि संगठित हुन्छन् भने सामाजिक संस्थाहरू समुदायको हित, पहिचान, कल्याण र एकताका लागि स्थापित हुन्छन् । सामाजिक संस्थाको आधार सेवा, सहकार्य र साझा भावना हो, न कि शक्ति र सत्ता ।
नेपाल मगर संघले बीस लाखभन्दा बढी मगर समुदायको साझा प्रतिनिधित्व गर्ने भएकाले यसको नेतृत्वले मगरहरूको इतिहास, भाषा, संस्कृति, भूगोल र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित हुनुपर्छ । यसले मगर समुदायको आत्मसम्मान बढाउने, सबै मगरलाई भावनात्मक रूपमा जोड्ने र संघलाई साझा संस्थाका रूपमा स्थापित गर्ने काम गर्नुपर्छ । नेपाल मगर संघ कुनै एक विचार, धर्म वा भूगोलको संस्था होइन; यो आफूलाई “म मगर हुँ” भन्ने सम्पूर्ण मगरहरूको साझा छाता संस्था हो । त्यसैले यसलाई अझ समावेशी, विश्वसनीय र साझा बनाउनु आजको प्रमुख आवश्यकता हो ।
अबको नेतृत्वले मगर समुदायको वर्तमान आवश्यकता, ऐतिहासिक जिम्मेवारी र बदलिँदो सामाजिक–राजनीतिक परिवेशलाई बुझ्दै नयाँ दृष्टिकोणसहित अगाडि बढ्न आवश्यक छ । आगामी नेपाल मगर संघले के–कस्ता प्राथमिकतामा काम गर्नुपर्छ भन्ने विषयमा गम्भीर बहस र स्पष्ट कार्यदिशा तय गर्नु समयको माग बनेको छ ।
इतिहासमा मगर
मगर समुदायलाई हिमालय पर्वतीय सभ्यताको प्राचीन सर्जक समुदायमध्ये एक मानिन्छ । पाषाण युगदेखि हिमालय क्षेत्रमा बसोबास गर्दै आएका मगर पूर्वजहरूले करिब ३५०० देखि ४००० वर्षअघि फलाम र तामाजस्ता धातुको खोज, उत्खनन तथा प्रयोगको ज्ञान विकास गरेका थिए भन्ने मान्यता छ । नवपाषाण युगबाट धातु युगतर्फ संक्रमण हुँदै गर्दा पहाडी भूभागमा खानी उत्खनन, धातु प्रशोधन र त्यसको दैनिक जीवनमा उपयोग गर्ने सीप तथा प्रविधिको विकासमा मगर पूर्वजहरूको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । आज पनि केही मगर समुदाय “आग्रे” वा “खानीगाउँले” पहिचानसँग जोडिएका छन्, जसले यस ऐतिहासिक परम्पराको स्मरण गराउँछ ।
हिमालय क्षेत्रमा करिब चार हजार वर्षअघि जहुँ र कोदो खेतीको विकास भएको मानिन्छ । यस कृषि परम्पराको विस्तारसँगै स्थायी बस्ती, गाउँ र नगरहरूको विकास भयो । लुलु गाई, सुँगुर, कुखुरा र भेडापालनले कृषि प्रणालीलाई अझ व्यवस्थित बनायो । पशुपालन र कृषि कार्यसँग सम्बन्धित स्थानीय ज्ञान, पशुसँग संवाद गर्ने व्यवहारिक शैली तथा गोरुलाई कृषि प्रणालीको अभिन्न अंगका रूपमा विकास गर्ने प्रक्रियामा मगर समुदायको योगदान उल्लेखनीय रहेको पाइन्छ । नेपाली कृषि सभ्यताको विकासमा मगर पूर्वजहरूको योगदान ऐतिहासिक रूपमा महत्वपूर्ण मानिन्छ ।
विश्वमा साइबेरियन र हिमालयन सामनिज्मलाई प्राचीन तथा शक्तिशाली आध्यात्मिक परम्पराका रूपमा लिइन्छ । हिमालयन सामनिज्मको अभ्यास र परम्परासँग मगर समुदाय गहिरोसँग जोडिएको छ । मगर समाजमा झाँक्री परम्परा, सोरठी, घाटु लगायतका सांस्कृतिक अभ्यासहरू केवल मनोरञ्जनका माध्यम मात्र नभई आध्यात्मिक अनुभूति र सांस्कृतिक चेतनाका अभिव्यक्ति पनि हुन् । धार्मिक रूपमा कुनै एक संगठित मतमा सीमित नभए पनि मगर समुदायको जीवनशैलीमा आध्यात्मिक अभ्यास गहिरोसँग जोडिएको पाइन्छ ।
मगरात मगर समुदायको ऐतिहासिक भूगोल र उत्पत्तिसँग सम्बन्धित क्षेत्र हो । यो भूभाग कृषि, सिकार, धातु प्रयोग, आध्यात्मिक अभ्यास तथा स्थानीय राज्य व्यवस्थाको विकाससँग सम्बन्धित रहेको मानिन्छ । नेपाल राज्यको निर्माण प्रक्रियामा गोरखा राज्यको भूमिका महत्वपूर्ण रह्यो र गोरखा राज्यको सामाजिक तथा सांस्कृतिक आधारमा मगर समुदायको प्रभाव उल्लेखनीय रहेको विषयमा विभिन्न ऐतिहासिक विमर्शहरू पाइन्छन् । यद्यपि, यस विषयमा अझ गहिरो अध्ययन र तथ्यपरक अनुसन्धान आवश्यक देखिन्छ ।
विक्रम संवत् १८१९ मा स्थापना भएको पुरानो गोरख गण मगर गण थियो । यसले नेपाल राज्य विस्तार मात्र नभई नेपाली सामरिक इतिहासमा पनि महत्वपूर्ण भूमिका खेलेको थियो ।
सुगौली सन्धिपछि नेपाली युवाहरू बेलायती सेनामा भर्ती हुन थाले र विश्वयुद्धहरूमा बेलायतको तर्फबाट “गोरखा” राइफलका रूपमा सहभागी भए । प्रथम र दोस्रो विश्वयुद्धमा नेपालीले पाएका १२ वटा भिक्टोरिया क्रसमध्ये ६ वटा मगर सिपाहीहरूले प्राप्त गरेका थिए । यद्यपि यो विषय सार्वभौम देशको सन्दर्भमा विरोधाभाषपूर्ण छ । यति हुँदाहुँदै पनि विश्व सामरिक इतिहासमा यसले “बहादुर गोरखा” को अन्तर्राष्ट्रिय छवि स्थापित गर्यो । यसमा मगर समुदायको भूमिका महत्वपूर्ण रहेको नकार्न मिल्दैन ।
मगर समाजमा मिनबाट विकसित भएको मितेरी संस्कृतिले नेपाली समाजमा सामाजिक सम्बन्ध र सहअस्तित्वलाई मजबुत बनाउन योगदान गरेको छ । प्रकृति, वनजंगल, जीवजन्तु र अन्य समुदायसँग सम्बन्ध जोड्ने सांस्कृतिक अभ्यासका रूपमा मितेरी परम्परा विकसित भएको पाइन्छ । समयक्रममा यसलाई राजनैतिक सम्बन्ध र कुटनीतिक औजारको रुपमा पनि प्रयोग गरेको पाइन्छ । तथापि यो भावनात्मक सम्बन्ध हो र यो पुस्ता दरपुस्तसम्म अटुट रहन्छ । नेपाली समाजको विविधतालाई जोड्ने सामाजिक सेतुका रूपमा मितेरी संस्कृतिको महत्व आज पनि कायम छ । मगर यस्तो समुदाय हो जसको नाता सम्बन्ध हरेक जातजातिसँग छ । पुस्तौं पुराना मितेरी नाता मार्फत नेपाली समाजलाई मगरले जोडेको छ । मगर र मगर संस्कृतिले नेपाली समाज जोड्ने रसायनको रुपमा काम गरेको छ ।
त्यसैगरी, मगर सभ्यताबाट विकसित नाच, गीत, लोकसंगीत र वास्तुकलाले नेपाली राष्ट्रिय संस्कृतिमा गहिरो प्रभाव पारेका छन् । विशेषतः मादलसँग गाइने लोकभाका र सांस्कृतिक अभिव्यक्तिहरू मगर गाउँहरूको सांस्कृतिक जीवनबाट विकसित भएका मानिन्छन् । आज मादल नेपाली लोकसंगीतको पहिचान र सांस्कृतिक स्वादका रूपमा स्थापित भइसकेको छ ।
अबको मगर संघको नेतृत्व
५/६ हजार वर्ष पुरानो हिमालयन सभ्यताको निर्माण र विकाससँग मगर जातिको गहिरो सम्बन्ध रहेको छ । यही सभ्यताको विरासत आज नेपाली सभ्यताको महत्वपूर्ण आधारमध्ये एक बनेको छ । तर नेपालको इतिहास लेखनको क्रममा मगर र मगरातको ऐतिहासिक योगदानलाई खस राज्य र शासकीय इतिहासको छायाँभित्र सीमित पार्ने प्रयास हुँदै आएको देखिन्छ । अबको मगर नेतृत्वले यस ओझेलमा परेको इतिहासलाई तथ्य, अध्ययन र विमर्शमार्फत उजागर गर्दै मगर समुदायको ऐतिहासिक योगदानलाई राष्ट्रिय चेतनामा स्थापित गर्न अग्रसर हुनुपर्छ ।
मगर जातिको हजारौँ वर्ष लामो इतिहास गौरवपूर्ण र समृद्ध छ । यस इतिहास, सभ्यता, संस्कृति, भाषा र सामाजिक योगदानबारे स्पष्ट वैचारिक धारणा निर्माण गर्दै आम मगर समुदायमा आत्मगौरव र पहिचानप्रतिको चेतना अभिवृद्धि गर्ने जिम्मेवारी नेपाल मगर संघको हो । संघले मगर समुदायलाई भावनात्मक, सांस्कृतिक र ऐतिहासिक रूपमा एकताबद्ध गर्ने साझा संस्थाको भूमिका निर्वाह गर्नुपर्छ ।
नेपाल मगर संघ धार्मिक रूपमा निरपेक्ष, राजनीतिक रूपमा तटस्थ र भौगोलिक रूपमा समावेशी बन्न आवश्यक छ । संस्थाप्रति सम्पूर्ण मगर समुदायको विश्वास र अपनत्व कायम राख्न यही आधार महत्वपूर्ण हुन्छ । व्यक्तिगत रूपमा जेसुकै भए पनि संस्थागत रूपमा नेतृत्वले सम्पूर्ण मगर समुदायको साझा भावना, हित र आकांक्षाको प्रतिनिधित्व गर्न सक्नुपर्छ ।
परिवर्तित समयसँगै पहिचानका मुद्दाहरू नयाँ चुनौतीको सामना गरिरहेका छन् । त्यसैले अबको नेतृत्वले पहिचानको संरक्षण र प्रवर्द्धनलाई आधुनिक सन्दर्भसँग जोड्दै शासन, नीति निर्माण र राज्यका संरचनामा मगर समुदायको सम्मानजनक सहभागिता कसरी सुनिश्चित गर्ने भन्ने विषयमा दीर्घकालीन रणनीति तय गर्नुपर्छ ।
हाल नेपाल मगर संघले अघि सारेको “दस्तावेजीकरणको दशक” भन्ने नाराको उद्देश्य सकारात्मक भए पनि यसको कार्यदिशा स्पष्ट र प्रभावकारी देखिँदैन । दस्तावेज खोज, निर्माण, संरक्षण र प्रचार–प्रसारको काम राज्य, अनुसन्धान संस्था, निजी क्षेत्र वा व्यक्तिहरूले पनि गर्न सक्छन् । नेपाल मगर संघको मुख्य भूमिका भनेको यस्ता कार्यलाई वैचारिक दिशा, प्रमाणिकता र संस्थागत मान्यता प्रदान गर्नु हो । संघले अध्ययन अनुसन्धानलाई सहजीकरण गर्ने, सही ऐतिहासिक दृष्टिकोण स्थापित गर्ने र मगर समुदायको पक्षमा बौद्धिक नेतृत्व प्रदान गर्ने कार्यमा केन्द्रित हुनुपर्छ ।
त्यसैगरी, शिक्षा र स्वास्थ्यको जिम्मेवारी राज्यको मूल दायित्व हो । नेपालको संविधानले प्रत्येक नागरिकलाई शिक्षा र स्वास्थ्यको अधिकार सुनिश्चित गरेको छ । त्यसैले नेपाल मगर संघले राज्यको जिम्मेवारी आफैं वहन गर्ने होइन, बरु मगर समुदायले राज्यबाट पाउनुपर्ने अधिकार सुनिश्चित गराउन आवाज उठाउने र पैरवी गर्ने भूमिका निर्वाह गर्नुपर्छ ।
नेपाल मगर संघले गर्नुपर्ने कार्यक्षेत्र धेरै व्यापक छन् । मगर इतिहासको खोज तथा पुनर्स्थापना, भाषा र संस्कृतिको संरक्षण, मगरात सभ्यताको प्रवर्द्धन, मगर समुदायबीच भावनात्मक एकता निर्माण, विभेद र असमानताविरुद्ध आवाज उठाउने तथा मगर सभ्यतासँग सम्बन्धित मूर्त र अमूर्त सम्पदाको संरक्षण र प्रवर्द्धन जस्ता क्षेत्रमा संघले प्रभावकारी नेतृत्व दिन सक्छ । साथै, राज्य र अन्य समुदायसँग सहकार्य र समन्वय गर्दै राष्ट्रिय एकता र राष्ट्र निर्माणमा पनि योगदान दिनुपर्छ ।
यसर्थ, १३औँ महाधिवेशनबाट आउने नयाँ नेतृत्वले विगतका अनुभव र वर्तमान चुनौतीलाई आत्मसात् गर्दै नयाँ सोच, स्पष्ट दृष्टिकोण र समावेशी कार्यशैलीका साथ मगर समुदायलाई मार्गदर्शन गर्न आवश्यक छ ।
निष्कर्ष
मगर समुदाय केवल नेपालको तेस्रो ठूलो जनसंख्या भएको जाति मात्र होइन, हिमालयन सभ्यता, कृषि विकास, सामरिक इतिहास, सांस्कृतिक निर्माण, सामाजिक सहअस्तित्व र राष्ट्र निर्माणको महत्वपूर्ण आधारस्तम्भ हो । हजारौँ वर्षदेखि विकसित मगर सभ्यताको योगदानलाई इतिहासमा ओझेलमा पार्ने प्रयास भए पनि त्यसको वास्तविकता मेटाउन सकिँदैन । यही गौरवपूर्ण इतिहास, भाषा, संस्कृति, आध्यात्मिक परम्परा र सामाजिक मूल्यलाई पुनर्स्थापित, संरक्षण र प्रवर्द्धन गर्ने जिम्मेवारी अबको नेपाल मगर संघको नेतृत्वको काँधमा आएको छ ।
अबको मगर नेतृत्व दलीय स्वार्थबाट माथि उठेर सामाजिक, सांस्कृतिक र ऐतिहासिक चेतनामा आधारित हुनुपर्छ । नेपाल मगर संघ कुनै राजनीतिक दलको कार्यकर्ता व्यवस्थापन गर्ने थलो होइन, सम्पूर्ण मगर समुदायको साझा संस्था हो भन्ने भावनालाई पुनर्स्थापित गर्नुपर्छ । त्यसैले नेतृत्व धार्मिक रूपमा निरपेक्ष, राजनीतिक रूपमा तटस्थ, भौगोलिक रूपमा समावेशी र वैचारिक रूपमा उदार हुन आवश्यक छ । नेतृत्वले मगर समुदायभित्र विश्वास, एकता र आत्मसम्मान बढाउने काम गर्नुपर्छ, विभाजन होइन ।
अबको नेतृत्वले मगर सभ्यताको इतिहास खोज्ने, मगरातको ऐतिहासिक भूगोलको अध्ययन गर्ने, भाषा, संस्कार, संस्कृति, मितेरी परम्परा, सामनिज्म, लोककला र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने दिशामा स्पष्ट दृष्टिकोण निर्माण गर्नुपर्छ । साथै, बदलिँदो समयसँगै कमजोर बन्दै गइरहेका पहिचानका मुद्दालाई नयाँ ढंगले उठाउँदै राज्यका नीति, शासन र राष्ट्रिय विमर्शमा मगर समुदायको सम्मानजनक सहभागिता सुनिश्चित गर्न रणनीतिक नेतृत्व दिनुपर्छ ।
नेपाल मगर संघले राज्यको काम आफैं गर्ने होइन, बरु मगर समुदायको साझा आवाज बनेर इतिहास, पहिचान, संस्कृति, अधिकार र आत्मगौरवको प्रतिनिधित्व गर्ने संस्था बन्नुपर्छ । १३औँ महाधिवेशनबाट आउने नयाँ नेतृत्वले विगतका कमजोरीबाट पाठ सिक्दै नयाँ परिस्थितिअनुसार समावेशी, बौद्धिक, दूरदर्शी र जिम्मेवार नेतृत्व प्रदान गर्न सके मात्र नेपाल मगर संघ पुनः सम्पूर्ण मगर समुदायको साझा भरोसाको केन्द्र बन्न सक्नेछ । नेपाल मगर संघको नेतृत्व धार्मिक रूपमा निरपेक्ष, राजनीतिक रूपमा तटस्थ, भौगोलिक रूपमा समावेशी र वैचारिक रूपमा उदार हुन आवश्यक छ ।