लन्डन । ब्रिटिश गोर्खा नागरिकता निरन्तरता अभियान (सिएनसिबिजि)को बार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न भएको छ।

बार्षिक साधारण सभामा ब्रिटिश गोर्खा नागरिकता निरन्तरता अभियान सिएनसिबिजिले वर्ष भरि संस्थाले गरेको गतिविधिको बारेमा ब्यापक छलफल गरेको हो।

बार्षिक साधारण सभाको उद्घाटन नेपाल आदिबासी जनजाति महासंघ बेलायतका अध्यक्ष मे.(रि) योगेश राईले गर्नु भएको हो। उहाँले पानसमा दिप प्रज्वलन गर्दै सिएनसिबिसि संस्थालाई बधाई तथा शुभकामना व्यक्त गर्नु थियो।

(सिएनसिबिजि)को बार्षिक साधारण सभामा कोषाध्यक्ष याम थापाले गत वर्षको बार्षिक साधारण सभाबाट अहिलेसम्म कुन कुन शिर्षक र श्रोतबाट के कति रकम प्राप्त भयो र कुन कुन शिर्षकमा के कति रकम खर्च भयो र अहिले संस्थासँग के कति रकम बाँकी रहेको छ भन्ने विषयमा आर्थिक प्रतिवेदन साधारण सभामा प्रस्तुत गर्नु भएको थियो।
त्यसैगरी संस्थाका उपाध्यक्ष दल बहादुर बुढाथोकीले सिएनसिबिजिको अवधारणा, मार्गचित्र (रोडम्याप) तथा संविधान संशोधनकोलागि नेपाल सरकारलाई पठाएको सुझावबारे स्पष्ट पार्नु भएको थियो।
बार्षिक साधारण सभाबाट उपाध्यक्ष शोभराज गुरुङले संस्थाको विधान संशोधन प्रस्तुत गर्नु भएको थियो । उपाध्यक्ष गुरुङले प्रस्तुत गर्नु भएको विधान संशोधन उपर वृहत छलफल भएको थियो । छलफलपछि बहुमत सदस्य संख्याद्वारा विधान पारित गरिएको हो। संस्थाको विधानमाथि दिल गुरुङ, मनोज पुन, देभ कुमार गुरुङ, दिर्ग गुरुङ, मोहन गुरुङ र कृष्ण राई लगायतले जिज्ञासाका साथ सल्लाह सुझाव दिनु भएको थियो।

बार्षिक साधारण सभा कार्यक्रममा संस्थाका अध्यक्ष थर्क रानाले नेपाल भ्रमणमा रहेको बेला नेपालका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल, पूर्व गृहमन्त्री माननीय सुदन गुरुङ तथा विभिन्न पार्टीका अध्यक्ष तथा संघीय सांसदहरुसँग भेटघाट गरी गोर्खा र तीनका सन्नतीहरुका नागरिकता निरन्तरताको बारेमा सिएनसिबिजिको तर्फबाट राखिएको विषयलाई पनि साधारण सभामा प्रष्ट पार्नु भएको थियो। उहाँले गोर्खा र तीनका सन्तानहरुका नागरिकताका विषयमा भविष्यमा ती विषयहरुलाई कसरी बढाईदैछ भन्ने विषयमा पनि स्पष्ट पार्दै नेपाल सरकारलाई निरन्तर आफ्ना मुद्धामा आवाज उठाई राख्नु पर्ने धारणा राख्नु भएको थियो। उहाँले भन्नु भयो–जबसम्म हाम्रो मुद्धा नेपाल सरकारले सुनुवाई गर्दैन् तबसम्म हामी गोर्खा र गोर्खाका परिवारहरु एकजुट भएर आवाज उठाई राख्नुपर्छ र नेपाल सरकारलाई जवाफदेही बनाउनुपर्छ।

साधारण सभामा सहभागी विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सिएनसिबिजिका सल्लाहकार भगवान चामलिङ, नेफिन युकेका पूर्व अध्यक्ष तथा सल्लाहकार तुल छन्त्याल, नारदमणी गुरुङ, सन्धोश गुरुङ लगायतले सिएनसिबिजिलाई आ–आफ्ना तर्फबाट सल्लाह सुझाव र शुभकामना दिनु भएको थियो । साथै उहाँहरुले सिएनसिबिजिको संयोजकत्वमा नेपाल सरकारसँग वार्ता गर्न सम्पूर्ण गोर्खा संस्थाहरु समेटी तत्काल एक उच्चस्तरीय प्रतिनिधि मन्डल (डेलिगेशन) गठन गर्न पहल गर्नुपर्ने तर्फ ध्यान दिनु पर्ने सुझाव समेत बार्षिक साधारण सभामा दिनु भएको थियो।

साधारण सभाको अध्यक्ष सिएनसिबिजिका अध्यक्ष थर्क रानाले गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण संस्थाका महासचिव भक्त रानाले गर्नु भएको हो त्यसैगरी स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष शोभराज गुरुङले गर्नु भएको थियो। उक्त साधारण सभामा संस्थाको वेबसाईटको बारेमा वेबहोस्ट इष्ट गुरुङले प्रकाश पार्नु भएको थियो।
सिएनसिबिजिको बार्षिक साधारण सभा लन्डन स्थित अल्डरसटको एम्पायार हलमा गत शनिबार, २०२६, मे ३० तारिखको दिन भएको थियो। कार्यक्रमको अन्तिममा संस्थाका अध्यक्ष थर्क रानाले साधारण सभामा उपस्थित सबैको जिज्ञासाप्रति उत्तर दिर्दै कार्यक्रम सफल बनाउन सहयोग गरेको भन्दै सबै सहभागीहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो। Photos–CNCBG











