काठमाडौं । थकाली महिला संघले आज देखि क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकास सम्बन्धी ७ दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।


७ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि थकाली महिला संघका सल्लाहकार तथा थकाली सेवा समिति नेपाल केन्द्रका पूर्व अध्यक्ष कृष्ण कुमारी शेरचनले राज्यको हरेक तहमा थकाली महिलाको सम्मानजनक ढंगले पहुँच हुनु पर्ने बताउनु भयो। विगतका दिनहरुमा थकाली महिला मात्र नभई आम महिलाहरुलाई शिक्षा र चेतनाबाट ओझेल पारेको तितो घटनालाई स्मरण गर्दै अबका दिनहरुमा महिलाहरु हरेक क्षेत्रमा अब्बल हुँदै जानु पर्नेमा जोड दिनु भयो । उहाँले भन्नु भयो – विगतका दिनहरुमा महिलाहरुलाई शिक्षाबाट बञ्चित गराईथ्यो किन भने महिलाहरु शिक्षित भयो भने चिठीपत्र लेखेर अर्कोसँग विहे गरे जान्छ भन्ने सोंच त्यो बेलाको समाजमा थियो । त्यति मात्र नभई महिलाहरुले पढ्नु हुँदै घरायसी काममै बस्नु पर्छ भन्ने सोंचले ग्रसित थियो । यदि कुनै महिलाहरु सामाजिक, राजनीतिक क्षेत्रमा अगाडि बढ्न थालेपछि समाजले कुरा काट्ने, महिलाको चरित्रमाथि प्रश्न चिन्ह खडा गर्दथ्यो । तर अब समयले कोल्टो फेरि सकेको छ । आजको वर्तमान समयमा थकाली महिला तथा आम महिलाहरुलाई राजैतिक, सामाजिक, शैक्षिक क्षेत्रमा अगाडि बढ्न सहज छ । त्यसैले अब थकाली महिलाहरु सक्रिय भएर अगाडि बढ्नु पर्ने र आफ्ना भाषा धर्म संस्कृति तथा परम्परालाई जोगाउँदै नयाँ पुस्तामा हस्तारण गर्नु पर्नेमा उहाँले जोड दिनु भयो । प्रमुख अतिथि शेरचनले थकाली महिला संघले ७ दिन सम्म सञ्चालन गर्न लागेको कार्यलाई स्वागतयोग्य भन्दै बधाई सहित शुभकामना व्यक्त गर्नु भएको थियो । उहाँले क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकास जस्ता महत्वपूर्ण तालिमलाई कार्यक्रममा सहभागीहरुले गहन रुपमा अध्ययन मनन गर्दै व्यवहारमा उतार्नु पर्ने बताउनु भयो । तालिममा सहभागी प्रशिक्षार्थीहरुले तालिममा सिकाएका ज्ञानलाई व्यवहारमा उतार्दै भोलिका दिनमा विभिन्न कार्यक्रम, सभा र सम्मेलनमा आफ्नो क्षमता देखाउन सके, व्यक्तित्व विकास गर्न सके पक्कै पनि थकाली महिला मात्र होइन थकाली समाज र थकाली युवाहरुको भविष्य सुन्दर हुने धारणा राख्नु भयो ।


त्यसैगरी कार्यक्रममा बोल्दै विशेष अथिति थकाली अनुसन्धान केन्द्रका अध्यक्ष योगेन्द्र भट्टचनले पनि ७ दिने प्रशिक्षण तालिम कार्यक्रम गर्न लागेको भन्दै थकाली महिला संघलाई धन्यवाद तथा शुभकामना व्यक्त गर्नु भयो । तालिममा सहभागी प्रशिक्षार्थीहरुले तालिममा सिकाएका ज्ञानसिपलाई सहि ढंगले सदुपयोग गर्दै त्यसको प्रतिफल आउने गरी आफ्नो क्षमता बढाउनु पर्नेमा जोड दिनु भयो । उहाँले थकाली समुदायको भाग्य र भविष्य बनाउने भनेको युवा पुस्ताको हातमा भएको भन्दै थकाली युवाहरु यस्ता कार्यहरुमा सक्रिय भएर लाग्नु पर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा बोल्दै अथिति युवा परिवार काठमाडौंका अध्यक्ष मन्जील शेरचनले पनि ७ दिने क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकास प्रशिक्षण प्रभावकारी हुने बताउनु भयो । उहाँले भन्नु भयो यो तालिम लिई सकेपछि नयाँ प्रशिक्षकको जन्म हुनेछ । तालिम अवधि भर समय खेरा नफाली तालिमको विषयवस्तुलाई गहन रुपमा लिई थकाली महिलाहरु क्षमतावान हुँदै आफ्नो व्यक्तित्व विकास गर्दै भावि दिनमा धेरै भन्दा धेरै युवा जमातलाई तालिम दिन सक्ने प्रशिक्षक बन्नुपर्छ भन्ने उद्देश्य बोकेर अगाडि बढ्नु पर्छ । उहाँले पनि थकाली महिला संघलाई शुभकामना दिर्दै ७ दिने प्रशिक्षण कार्यक्रमको सफलताको कामना गर्नु भएको थियो ।

त्यसैगरी कार्यक्रममा अर्का अतिथि थकाली महिला संघका संस्थापक अध्यक्ष एवंम सल्लाहकार यसो कान्ति भट्टचनले पनि थकाली महिलाको योगदानको सम्मान गर्दै थकाली समुदायलाई यहाँसम्म ल्याई पुराउन थकाली महिलाहरुको ठूलो योगदान रहेको बताउनु भयो । उहाँले भन्नु भयो –थकाली महिलाहरुको योगदान, संघर्ष र भूमिकाको कारण नै आज थकालीको शिर उचो राख्न सफल भएको छ । थकाली महिलाले विगतबाट आफ्ना पुर्खाहरुको इतिहासलाई आत्मासाथ गर्दै नयाँ पुस्ताहरुलाई हस्तारण गर्न यसरी नै क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकास जस्ता प्रशिक्षणले पनि ठूलो भूमिका खेल्ने बताउनु भयो । प्रशिक्षण तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई तालिमको महत्वलाई बुझेर व्यवहारमा उतार्न पनि सुझाव सल्लाह दिनु भयो ।

कार्यक्रममा थकाली महिला संघका सल्लाहकार तथा साहित्यकार शान्ति शेरचनले तालिमको शुभकामना दिर्दै धेरै भन्दा धेरै थकाली महिलाहरु प्रशिक्षक बन्न सक्नु पर्ने बताउनु भयो । थकाली महिलाहरुको एकताबद्ध भई यसरी नै ज्ञानमुलुक शिक्षा लिर्दै क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकास गर्नु पर्नेमा जोड दिनु भयो । त्यसैगरी गोल टिभीका सम्पादक दिपा आलेले पनि शुभकामना व्यक्त गर्नु भएको थियो ।

पहिलो दिनको उद्घाटन सत्रको समापन गर्दै थकाली महिला संघका अध्यक्ष कल्पना भट्टचनले पनि ७ दिने क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकास प्रशिक्षण तालिमलाई सहभागीहरुले विशेष महत्वका साथ सिक्नु पर्ने र सिकेर व्यवहारमा उतार्नु पर्ने बताउनु भयो । राज्यको हरेक तह र तप्कामा थकाली महिलाहरुको सहभागीता हुनकोलागि पनि क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकास प्रशिक्षणले ठूलो मद्दत गर्ने धारणा राख्नु भयो । विगतमा जे जस्तो भएपनि अबका दिनहरुमा थकाली महिलाहरु सामाजिक, राजनीतिक, सञ्चार लगायतका क्षेत्रमा लाग्नु पर्ने बताउनु भयो ।

थकाली महिला संघका अध्यक्ष कल्पना भट्टचनको अध्यक्षतामा सुरु भएकोे प्रशिक्षण तालिममा स्वागत मन्तब्य संघका उपाध्यक्ष प्रज्ञा शेरचनले गर्नु भएको थियो भने संस्थाका महासचिव विपिन शेरचनले कार्यक्रमको सहजिकरण भएको हो । ७ दिने प्रशिक्षण कार्यक्रममा प्रशिक्षकका रुपमा निम्लेकी शेर्पा रहनु भएको छ भने सहभागीहरु ४१ जना रहेका छन् । ७ दिने प्रशिक्षण तालिमको साझेदार संस्था टेवा रहेको छ । यो तालिम थकाली चुलो महाराजगन्ज चक्रपथमा ७ दिन सम्म हुने संस्थाका अध्यक्ष कल्पना भट्टचनले बताउनु भयो ।






















