• बैशाख १६ २०८३, बुधबार

चामे ! गौथली त हिँडिसकिन्

बैशाख १६ २०८३, बुधबार

एक युग ढिलो भएपछि मात्र नेपाली काङ्ग्रेस र नेकपा एमाले लगायतका पुराना दलहरूले सत्तामा रहँदा गरेको गल्ती अहिले आएर महसुस भएको कुरा बिस्तारै बोल्न थालेका छन् । यो आन्तरिक रूपमा आत्मिक र वैचारिक रूपान्तरण हो वा भाष्य निर्माणको वाकपटुता मात्र ! यसलाई व्यवहारमा कसी लगाउन केही समय कुर्नै पर्छ ।

पछुतो वा आत्मग्लानी अभिव्यक्त गर्ने पनि बेला र कुबेला हुन्छ । कुनै पनि कुरामा आत्मग्लानी हुनु भनेको अरूलाई दुःख वा सास्ती दिएको कुराप्रति सार्वजनिक दुःख मनाउ हो । दुःख मनाउ गर्दा जसले दुःख पाएको छ वा जसलाई आघात पुर्‍याइएको छ, उसले मनन गरेर क्षमा प्रदान गर्ने समय पनि पर्याप्त हुनुपर्छ ।

दिइएको दुःख क्षम्य र अक्षम्य दुवै प्रकृतिका हुन सक्छन् । तर जसले अनायासै दुःख पायो, उसले कम्तिमा पनि सुनेर, देखेर वा भेटेर दुःख मनाउ गरेका व्यक्तिलाई कुनै माध्यमबाट धन्यवाद दिन सक्ने बेला बाँकी रहेको अवस्था भएमा क्षयाचनाको सार्थकता रहन्छ ।

यसका लागि बेला टरी नसकेको उचित समय चाहिन्छ । समय टरिसकेपछि गरेको दुःख मनाउ या त पश्चात्तापको पराकाष्टा मात्र हुन्छ । या त यो सरासर ढोंग र पाखण्ड साबित हुन जान्छ । नेपाली समाजमा उखान पनि छ, ‘पोहर मरिन् सासु, अहिले आए आँशु !’

आध्यात्मिक रूपमा धर्मग्रन्थहरू नियाल्ने हो भने महाभारतमा अभिव्यक्त श्रीकृष्णको गीता दर्शनमा भनिएको छ, समय टरिसकेपछिको दुःख मनाउको अर्थै हुँदैन । भौतिकवादी मार्क्सवादी दर्शनमा दुःख मनाउ गर्नु भनेको रूपान्तरण हो ।

रूपान्तरण हुँदाका प्रक्रियामा ‘वाद’का रूपमा कुनै कुरा अभिव्यक्त हुन्छ । त्यसमाथि टिप्पणी, फरक मत वा अभिव्यक्तिका रूपमा ‘विवाद’ले जन्म लिन्छ । वाद र विवाद दुबै एकअर्कामा तर्क र विर्तकका आधारमा अघि बढ्दै जाँदा ‘सम्वाद’ को स्थिति सिर्जना हुन जान्छ । यो भनेको समाधान हो ।

जनतासँग हुने र गरिने हरेक सम्वाद भनेको जनचाहना र युग परिवर्तनको परावर्तन नेताहरूको चेतनामा पर्न जानु हो । यो भनेको ‘चेत आउनु’ पनि हो । खुट्टामा ठेस लागेपछि पनि बुद्धि पलाउन नसक्दाको दुर्दिन अहिले पुराना दलहरूमा स्वाभाविक रूपमा परिणामसहित प्रतिविम्वित हुन पुगेको छ ।

‘झाल खाएपछि मात्र चाल पाउने’ नेपाली काङ्ग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीका केही केही नेताहरू अहिले एक युग ढिला भएपछि मात्र आफूहरूले सत्ता सञ्चालन गर्दा गरेको गल्ती महसुस गरेर सच्चिन तयार रहेको कुरा जहातहीँ दोहर्‍याइ तेहर्‍याइ गरेको देखिन थालेको छ ।

गुरूप्रसाद मैनालीको ‘परालको आगो’ कथामा रनवन रन्काउने गरी गौथलीले ‘उडी जाऊँ भने म चरी होइन, बस्ने त मन छैन’ भनी गीत गाउँछे । उता गौथलीको अभावमा भनभनाउन हिँडेको चामेको कानमा यही सुरिलो आवाज सुमधुर सन्देश लिएर ठोक्किन पुग्छ ।

तत्काल चामेले यसको आभाष पाएर माइती घरमा पुगेकी गौथलीसामु पुगेर आफ्ना कमी कमजोरीप्रति याचनासहित माफी माग्छ र रमाइलो घरजम फेरि जम्न थाल्छ । चामेको समय छँदैको याचना वा रूपान्तरणले उनीहरूको जीवनमा पुनः बहार ल्याइदिन्छ ।

तर पुराना दलका लागि यस्तो सुवर्ण अवसर लगभग सदाका लागि टरिसकेको छ । पुराना दलहरूले सत्तामा रहँदाका बखत आजीवन सत्ता टिकाउन दलीय सिण्डिकेट खडा गरे । गठबन्धन, गाँठबन्धन, तटबन्धन, छेकबन्धन र रक्षाबन्धनसम्म पनि गरे ।

जनता आजित भए । चरम असन्तुष्टि सडकसम्म पोखियो । सामाजिक सञ्जालमा टिकाटिप्पणी र कार्टुन हेर्न सकिने तहसम्मका पनि थिएनन् । तर नेताका कानमा बतास पसेन उतिबेला ! अहिले ‘… पनि सके, दैलो पनि देखे’ भनेर के गर्नु खै !

परालको आगो कथाकी पात्र गौथलीको गीतझैं जनताले त्यतिबेलै गाइरहेका थिए– ‘उडी जाऊँ भने म चरी होइन, बस्ने त मन छैन ।’ भोट दिए पनि दलका नेताको व्यवहारबाट उनीहरू अघाइसकेका थिए । शीर्ष भनिने नेताहरूमा गल्ती, कमी र कमजोरीको समयमै आभाष हुन सकोस् र सुध्रिऊन् भनिरहेका थिए ।

समय टरी सकेपछि जनता विकल्पको खोजीमा लागे । नयाँ नयाँ नेता र पार्टीप्रति लगाव बढ्दै गयो । उता तात्कालिन आलोपालो सत्तासिन भइरहने राजनीतिक पार्टीहरूमा कुनै बदलावको आभाष महसुस भएन । लाज पनि रहेन, हीनताबोध पनि पलाएन । दुःख मनाउ पनि थिएन । रूपान्तरणको कुरो त सात समुद्र पार !

जेन्जी आन्दोलनपछि जनता नयाँ पार्टीमा तन, मन, धन लगाएर गइसके । जनताको मन जित्ने समय बितिसकेको छ । अहिले आएर न त माफी माग्ने समय छ, न त जनताले ‘तिमी रूपान्तरण भएछौ’ भनेर धन्यवाद दिने समय नै बाँकी छ ! अहिले अपराध बोध र क्षमा याचनाको सान्दर्भिकता र औचित्यता नै सकिइसक्यो । ‘लगनपछि पोते’को के काम !

इतिहास साक्षी छ । राणा शासन ढल्यो, राणा पुनः सत्तामा आएनन् । पञ्चायती व्यवस्था ढल्यो, पञ्चहरू पुनः सत्तासिन हुन पाएनन् । २०४६ साल आयो, काङ्ग्रेसको वर्चस्व सिद्धियो, सत्ता वामपन्थी मिसिएर आयो । दोस्रो जनआन्दोलन भयो, सत्ता माओवादी मिसिएर आयो ।

जेन्जी आन्दोलन भयो, पुराना दल सबै किनारा लागे, रास्वपाको एकलौटी सरकार निर्माण भयो । अहिले संसदमा अङ्क गणितमा सानो होला वा ठूलो, श्रम संस्कृति पार्टी नै संसदमा उपसभामुखसहित विधानतः प्रतिपक्षी दल बन्न पुगेको छ ।

अहम्‌ता, जडता र ध्वाँसको परिणति यस्तो हुँदो रहेछ । अध्ययन, अनुभूति र रूपान्तरणको अभावमा क्षणभरमै युग परिवर्तनको ‘टर्निङ’ सुरू हुँदो रहेछ । चाउरिएर बसेका चामेहरू हो, गौथली त हिँडिसकिन् !