• जेष्ठ २२ २०८३, शुक्रबार

सांकेतिक धर्ना मार्फत आदिबासी महिलाहरुले गरे सरकारलाई खबरदारी

जेष्ठ २२ २०८३, शुक्रबार

काठमाडौं । हाम्रो भूमि, हाम्रो पहिचान–आदिबासी महिला एकताको अभियान भन्ने मूल नारा सहित आदिबासी महिलाहरुले माईतीघर मण्डालामा सरकारलाई खबरधारी गर्दै आज सांकेतिक धर्ना कार्यक्रम गरेको छ ।

राष्ट्रिय आदिबासी जनजाति महिला महासंघको आयोजनामा आदिबासी जनजाति महिलाहरुले संबैधानिक हक तथा अधिकार सुनिश्चित गराउनकोलागि सरकारलाई सांकेतिक धर्ना कार्यक्रम गरेको हो ।

राष्ट्रिय आदिबासी जनजाति महिला महासंघका अध्यक्ष शोभा सुनुवारले सांकेतिक धर्ना कार्यक्रममा बोल्दै सम्पूर्ण आदिबासी जनजाति तथा आदिबासी महिलाहरुको संवैधानिक हक तथा अधिकार सुनिश्चित गराउन राज्य सरकारलाई सांकेतिक धर्ना कार्यक्रम मार्फत खबरधारी गर्नु भयो ।

उहाँले सांकेतिक धर्ना कार्यक्रममा बोल्दै राज्यको हरेक तह र तप्कामा आदिबासी महिलाहरुको अर्थ पूर्ण सहभागीता गराउनु पर्ने भन्दै आदिबासी महिलाहरुलाई राज्यको हरेक क्षेत्रमा समानुपातिक प्रतिनिधित्व गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले भन्नु भयो–आदिबासी जनजाति र आदिबासी महिलाहरुको पहिचान तथा अधिकारको संरक्षणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण होस् । आदिमकालदेखि नै देश बनाउन आदिबासी जनजाति र आदिबासी महिलाहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै चाँडो भन्दा चाँडो उनीहरुको माग सम्बोधन गर्नु पर्नेमा धारणा राख्नु भयो । अध्यक्ष सुनुवारले भन्नु भयो–सांकेतिक धर्ना मार्फत हामीले हाम्रो मुद्धा उठान गरेका छौं, हामीले पाउनु पर्ने अधिकार माग गरेका छौं यदि सरकारले हाम्रो आवाजलाई वेवास्ता गरयो भने सांकेतिक धर्ना कार्यक्रमले अर्को मोड लिनेछ । हाम्रो भूमि बचाउन र हाम्रो पहिचान बचाउन हामी जस्तो सुकै आन्दोलन गर्न पनि पछि पर्ने छैनौ त्यसैले सरकारले समयमै हामी आदिबासी जनजाति तथा आदिबासी महिलाहरुको आवाजलाई सुनुवाई गरी न्याय गरियोस्।


उक्त सांकेतिक धर्ना कार्यक्रममा विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरुले पनि आ–आफ्ना विचार राख्नु भएको थियो । अधिकांश प्रतिनिधिहरु तथा सहभागीहरुको एउटै माग र आवाज थियो, हाम्रो भूमि, हाम्रो पहिचान–आदिबासी महिला एकताको अभियान, आदिबासी महिलाहरुको विविधतालाई संम्बोधन गर, संविधान संशोधनमा आदिबासी जनजातिको दृष्टिकोण र अडानलाई संबोधन गर, आदिबासी जनजातिको अधिकार सुनिश्चित गर । आदिबासी महिलाहरुको पहिचान र अधिकार सुरक्षित गर । भूमि, पहिचान र अधिकार हाम्रो मौलिक हक हो । राज्य संरचनामा आदिबासी महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर, आदिबासी अपाङगता भएका व्यक्तिहरुको पहिचान, प्रतिनिधित्व र अधिकारको ग्यारेण्टी गर, जल, जमिन र जंगल र प्राकृतिक स्रोतमा आदिबासी जनजातिको अधिकार सुनिश्चित गर, पहिचान सहितको संघीयता, अधिकार सहितको संविधान लागु गर । हाम्रो संस्कृति, हाम्रो भाषा, हाम्रो अधिकार–संविधानले सम्मान गर । संविधान संशोधनमा आदिबासी जनजातिको दृष्टिकोण र र अडानलाई सम्बोधन गर । संविधान निर्माण प्रक्रियामा आदिबासीको प्रतिनिधित्व र सहभागिता राजनीतिक दलको बाट नभएर आदिबासीको प्रथा परम्परा अनुसार छनौट गर । आदिबासीहरुको मुद्धा छुटटै विषय समितिमा समावेश गर । संविधान संशोधन अघि आदिबासीबाट स्वतन्त्र, अग्रिम जाजनकारी सहितको मन्जुरी(FPIC) प्राप्त गर । आदिबासी महिलाहरुको पहिचान र अधिकार सुरक्षित गर । हाम्रो संस्कृति, हाम्रो भाषा, हाम्रो अधिकार–संविधानले सम्मान गर । राज्य संरचनामा आदिबासी महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चत गर । CEDAW GR 39 को कार्यान्वयन गर । FPIC सम्यन्त्र लागु गर लगायतका नाराहरु मार्फत सरकारलाई खबरदारी गरेका थिए । कार्यक्रममा विभिन्न जातीय संघसंस्थाबाट महिलाहरुको सहभागीता भएको थियो । उक्त सांकेतिक धर्ना कार्यक्रमको सहजिकरण राष्ट्रिय आदिबासी जनजाति महिला महासंघका महासचिव धनकुमारी रानामगरले गर्नु भएको हो ।