काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बाढी प्रभावित क्षेत्रमा तत्काल खोज तथा उद्धारदेखि दीर्घकालीन पुनर्निर्माण र हिमाली विपद् व्यवस्थापनसम्मका विषय समेटेर २४ बुँदे विशेष प्रस्ताव पारित गरेको छ ।
पार्टी केन्द्रीय कार्यसंयोजन समितिको सोमबार बसेको बैठकले रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन सरकारसँग माग गरेको हो ।
नेकपाले भग्नावशेष, जलविद्युत् आयोजनाका सुरुङ तथा विद्युत्गृहलगायत स्थानमा मानिस पुरिएको वा फसेको हुन सक्ने भन्दै सबै संयन्त्रलाई खोज तथा उद्धार अभियानमा परिचालन गर्न माग गरेको छ । आवश्यक प्रविधि, उपकरण र विज्ञ जनशक्ति स्वदेश तथा विदेशबाट जुटाउन पनि प्रस्तावमा भनिएको छ ।
बाढी प्रभावित नागरिकलाई खाद्यान्न, पानी, औषधि, ग्यास, इन्धन र लत्ताकपडालगायत अत्यावश्यक सामग्री तत्काल उपलब्ध गराउन तथा वृद्धवृद्धा, गर्भवती, सुत्केरी, बालबालिका, बिरामी, अपांगता भएका व्यक्ति र अन्य जोखिममा रहेका समूहलाई प्राथमिकता दिनुपर्ने नेकपाको माग छ ।
जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न मध्यकालीन तथा दीर्घकालीन योजना बनाउनुपर्ने नेकपाको प्रस्तावमा उल्लेख छ ।