• बैशाख १० २०८३, बिहीबार

हर्मुजमा नाकाबन्दी गर्न अमेरिकालाई के के छन् अफ्ठ्याराहरू ?

चैत्र ३० २०८२, सोमबार

पाकिस्तानकाे इस्लामावादमा शनिवार सुरू भएर आइतवारसम्म चलेको २१ घण्टे अमेरिका–इरान वार्ता असफल भएपछि संसारभर नयाँ तरङ्ग सिर्जना भएको थियो । वार्ता विफलताको पक्ष र विपक्षमा विश्वभर तर्क र वितर्कका लहरे मोर्चाबन्दीयुक्त तानातान हुँदै गर्दाका केही घण्टापछि सोमवारदेखि लागु हुने गरी अमेरिकाले ‘होर्मुज नाकाबन्दी’को घोषणा गरेको छ ।

भीषण बमबारी र सैन्य आक्रमणको टुङ्गो नलागेपछि अमेरिकी राष्ट्रपतिले जानीमानी आएको अमेरिकी शक्ति सञ्चयको ‘नाकाबन्दी’ अस्त्र फेरि पनि हर्मुज जलमार्गमाथि फ्याँकेका छन् । यसलाई इरानले अवैध करार गरिसकेको छ । यसको डटेर सामना गरिने जवाफ पनि दिइसकेको छ ।

इरानको जित र अमेरिकाको हार वा तेहरानले फेरि पनि अमेरिकी फौजी हमलालाई निम्तो गरेको जस्ता स्वाभाविक तर्कवितर्क हुँदै गर्दा ‘हर्मुज नाकाबन्दी’को अमेरिकी घोषणाले इरान हमलालाई अबका दिनमा नितान्त द्विपक्षीय र रणनीतिक बनाएर लगेको देखिन्छ ।

किनकि यस अघि यो युद्ध आफैमा अमेरिका, इजरायल र इरान गरी त्रिपक्षीय हुँदै आएको थियो । अझ भनौ इजरायललाई अमेरिकाले आफ्नो ‘प्रोक्सी’का रूपमा अघि सारेर आफूले इजरायललाई ‘ब्याक सपोर्ट’ गरिरहेको देखाउन निकै कसरत गरिरहेको थियो ।

इस्लामावाद शान्ति वार्ताको नाटक गरेर अमेरिका आफै किनारामा परेको छ । अत्यन्तै आधुनिक र अविजित मानिने अमेरिकी युद्धक विमानहरू इरानी आकाशमा चरा खसालिएझैं श्रृङ्खलाबद्ध रूपमा इरानी मिसाइको निशानामा उनिएर इरानी जमिनमा पछारिन पुग्दा अमेरिकाले पाकिस्तानको अध्यस्थताको माग गरेको थियो ।

अहिले हर्मुज जलमार्गमाथि अमेरिकाले नाकाबन्दीको घोषणा गरे पनि त्यो कामयावी हुने र भइरहेको देखिदैन । किनकि इरान युद्धको अवधिभर हर्मुज जलमार्ग इरान आफैले कब्जामा लिएर अमेरिकी र इजरायली तेलजहाज बाहेक अन्यलाई खुल्ला गरेर एकलौटी सञ्चालनमा ल्याइरहेको छ ।

यति मात्र होइन, अमेरिकाले गरेको फौजी आक्रमणबाट इरानी भौतिक पूर्वाधार तथा सार्वजनिक महत्वका स्थानमाथि हुन गएका क्षतिको पूर्तिका लागि भन्दै हर्मुजमा चल्ने तेलजहाजबाट थप कर पनि असुल गरिरहेको छ ।

यो थप कर लिने प्रक्रिया जारी राखेमा अमेरिकाले पुनः आक्रमण गर्न सक्ने चेतावनी पनि दिएको छ । यो चेतावनी अमेरिकाले अन्य देशसँग आफ्नो मोर्चावन्दी निर्माणका लागि निकै उपयोगी हुनसक्ने अर्थमा लिएको छ । तर यस्तोखाले अमेरिकी चेतावनीलाई मध्यनजर गरी इरानले यदि अमेरिकाले नाकाबन्दीको नाममा हर्मुज जलक्षेत्रमाथि आक्रमण गरेमा उसले मध्यपूर्वका देशमा रहेका सबै अमेरिकी बन्दरगाहमाथि आक्रमण गर्ने प्रतिघोषणा गरिसकेको छ ।

इरानलाई अबका दिनमा उठ्नै नसक्ने गरी थिल्थिलो बनाएर लम्पसार पारी छोडेको भनी सार्वजनिक घोषणा गरेर नथाकेको अमेरिका इस्लामावाद वार्ताबाट उपर्युक्त कारणले गर्दा रित्तै हात फर्कन बाध्य भएको थियो । फेरि इस्लामावाद वार्ता आफैमा अमेरिकाद्वारा प्रायोजित वार्ता थियो ।
अमेरिका वा इरानमध्ये कुनै पनि एक पक्षले अर्को पक्षलाई वार्ताका लागि कुनै पनि औपचारिक मौखिक अनुरोध वा लिखित पत्रसम्म पे्रसित गरेका थिएनन् । राजनीतिक विश्लेषकका अनुसार अमेरिकी ‘फेस सेभिङ’का लागि यो सबै नाटक मञ्चन गरिएको थियो । विश्लेषकहरू त यो कुरासम्म पनि स्वीकार गर्न तयार छन् कि इस्लामावाद वार्तामा इरानले ‘जाने कि नजाने’ भनेर रसिया तथा चीनसँग पनि सल्लाह लिए कुरा अस्वीकार गर्न सकिदैन ।

यसको घुमाउरो तर यथार्थ अर्थ हुन आउँछ, अमेरिकी राष्ट्रपति ट्रम्प इरान हमलाबाट पछि हट्नका लागि फेस सेभिङ गर्न मद्दत पुग्ने इस्लामावाद वार्ता सहजताका लागि चीन र रसियाको गोप्य मन्त्रणा लिन समेत पछि परेका थिएनन् ।

यसपछि त अमेरिका–इरान युद्ध विराम र शान्तिका वार्ताका लागि पाकिस्तान मध्यस्थकर्ता बन्न तयार रहेको एकाएक प्रचारमा आएको थियो । उता इस्लामावाद वार्ता लम्ब्याउने र असंभव तथा बोझिला शर्तहरू इरानी वार्ता टोलीमाथि थोपर्ने र वार्ता जिष्कर्ष विहीन बनाएर फर्कने चालमा अमेरिका अघि बढिसकेको थियो ।

इरानी युरेनियम प्रवद्र्धन कार्यक्रम रोक्नुपर्ने, ड्रोन तथा लामो दुरीका मिसाइल निर्माण बन्द गरिनु पर्ने, हर्मुज जलमार्गमा खुल्लमखुल्ला अमेरिकी उपस्थिति र वर्चस्व स्वीकार गरिनु पर्ने, अमेरिकी पेट्रो डलर नै हर्मुजमा प्रयोग गरिनु पर्ने लगायतका असंभव शर्त अमेरिकी वार्ता टोलीका तर्फबाट अघि सारिएका थिए ।

उता इरानी वार्ता टोलीले एक सार्वभौम राष्ट्रका नाताले आफूहरू समानताका आधारमा अमेरिकासँग सम्झौता गर्न तयार रहेको तर असमान सन्धी र सम्झौता कुनै पनि हालतमा नगर्ने अडानबाट पछि हटेका थिएनन् ।

यदि हर्मुज जलमार्गमाथि अमेरिकी नाकाबन्दी कायमै रहे हाल विश्वमा चलिरहेको नवउदारवादी अर्थतन्त्रसहितको अमेरिकी वैश्विक व्यवस्थाको विकल्प दिन तयार रहेको चिनियाँ साझेदारी सहकार्यसहितको नयाँ विश्व व्यवस्थाको उदय र विस्तारलाई यसले सहजीकरण गर्ने देखिन्छ ।

किनकि विश्वभर पुर्‍याइने मध्यपूर्व अरबको पेट्रोलियम पदार्थको विश्वव्यापारमा हाल प्रयोगमा रहेको ‘पेट्रो डलर’ को स्थान चिनियाँ मुद्रा ‘पेट्रो युआन’ ले लिनथाल्ने अधिकांश अर्थविश्लेषकको अनुमान रहेको छ ।

दक्षिण अमेरिकी महादेशभित्र रहेको भेनेजुएला माथिको अमेरिकी फौजी अतिक्रमण र त्यहाँका कार्यकारी राष्ट्रपति निकोलास मादुरोको अपहरणपछि हौसिएको संयुक्त राज्य अमेरिका एशिया महादेशको पश्चिमी भाग तथा विश्वको मध्यपूर्व स्थित अरब देशहरूमा आएर दादागिरी मच्चाउँदा एशियाली शक्ति कुटनीतिक र रणनीतिक मुद्दामा एक ठाउँमा रहेको सन्देश इरानबाट अमेरिकी पछि हटाइले अनुभूत हुने गरी दिइसकेको छ ।