समय बिते पछिको हतारोले केही परिणाम ल्याउँदैन । चलिरहेका दिन गएपछि नयाँ दिन आउँछन् । तर आएका नयाँ दिन अरूको हुन्छ, आफ्ना हुँदैनन् । समय र अवसर कसैका लागि पर्खिरहँदैनन् । वास्तवमा समयले यसरी नै कोल्टो फेर्दै आएको छ । युग यसरी नै परिवर्तन हुँदै आएको छ ।
नियमित घोडा चढिरहेको एक घोडचढीले निकै बेतालमा घोडा कुदाउँदा तीब्र गतिका कारण ऊ घोडाबाट लडेछ । गम्भीर घाइते हुनुका साथै उसको चेत पनि हराएछ । तर तत्काल उठेर बेहोसमै उसले आफ्नो घोडाको खोजी गर्न थालेछ ।
अचेत अवस्थामा रहेकाले उसले आफू चढेको बाहनको नाम पनि भुलेछ । भौतारिँदै जाँदा उसले बाटोमा भेट्याएको घोडाको लिदी बाँया हातमा र हरियो दुबो दायाँ हातमा राखेर ‘यस्तो खाने’ र ‘यस्तो हग्ने’ देखेका छौ ? भन्दै भेटेका जति मानिसलाई सोध्दै हिँड्न थालेछ ।
बाटोमा हिँड्ने मानिसले उसले अवस्था बोध गर्ने र उसले के बोलिरहेको छ भन्ने भन्दा पनि ऊ किन यसो गरिरहेको छ भनेर हाँस्दै र उसको खिल्ली उडाउँदै गर्दा रहेछन् । जब कि तिनै मानिसले केही क्षण अघिसम्म उसलाई घोडामाथि कुदेर सवार गरिरहेको देख्दा बाटा छेउबाट सलाम गरिरहेका थिए ।
आज समयले कोल्टो फेरिसकेको छ । नेपाली जनताको आशा र भरोसा पुराना दलहरूमाथि छैन । उनीहरू अब उदाउँदा शक्ति पनि रहेनन् । बरू ‘टेस्टेड’ भइसकेका पङ्क्तिमा दर्ज भएका छन् । सत्तामा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रतिपक्षम श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको बोली बिक्ने अवस्था सिर्जना भएको छ ।
भलै नेपाली काङ्ग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी प्रतिपक्षमा रहेका राप्रपा र श्रसंपाभन्दा ठूला किन नहोऊन् । सुशासनको नारा कार्यान्वयन गर्दै रास्वपाको सरकार अघि बढिरहेको छ । प्रतिपक्षसँग हात मिलाउनुपर्दा रास्वपाले या त राप्रपा या त श्रमसंस्कृति पार्टीसँग सहकार्य गर्नेछ ।
अर्कोतिर, सरकारले अघि बढाएका हर कदममा नागरिकको ठूलो हिस्साको समर्थन छ । राजनीतिक पूर्वाग्रहका आधारमा सरकारले काम गरिरहेको छ भन्ने प्रतिपक्षीको आरोप ‘उल्टो पूर्वाग्रह’ रहेको धेरैको जिकिर छ ।
पुराना दल र तिनका नेता तथा अगुवा छाती फुलाएर ‘ल ममाथि अनुसन्धान गर’ भन्ने अवस्थामा कोही पनि छैनन् । सरकारले अघि बढाएको कार्की आयोगको सुझाबअनुसारको अनुसन्धान र सम्पत्ति शुद्धीकरणको कदमले सबैको निद हराम गराएको छ ।
हाल प्रतिपक्षमा रहेका यस अघिका ठूला दल र तिनका नेताले सरकारले पूर्वाग्रह राखेर कारवाही अघि बढाएको भनी जिकिर गरिरहँदा जनताले उल्टै आफूले विगतमा गरेका कमी कमजोरी ढाकछोप गर्नका लागि पूर्व सरकार प्रमुखहरूले पर्दा हाल्न खोजिरहेको भनी व्यापक टिप्पणी गरिरहेका छन् ।
पहिले पहिले जनमत आवधिक रूपमा अभिव्यक्त हुने परम्परा थियो । तर अहिले सामाजिक सञ्जालको व्यापकताका कारण जनमत तत् क्षण अभिव्यक्त हुने अवस्था सिर्जना हुन पुगेको छ । शब्दमा भन्नु पर्दा यसलाई ‘अभिमत’ भनिए पनि यो ताजा जनमतभन्दा कुनै पनि मानेका कम प्रभावकारी देखिदैन ।
वर्तमान सरकारद्वारा पहिलेका सरकार प्रमुखहरूमाथि सुशासनका ‘भाटा’ बर्साइँदा प्रतिवाद गर्ने अस्त्रसम्म पनि छैनन् पुराना दल र तिनका नेताहरूसँग ! संविधानले परिकल्पना गरेको समाजवादी अस्त्र पनि हाल कामयावी छैनन् । विकास निर्माणका अस्त्र पनि कहाँ गए ? ‘हामीले थालेका जनपक्षीय कामलाई निरन्तरता देऊ’ भन्ने आँट र अजेण्डा पनि बाँकी छैनन् ।
पुराना दलका कथित समाजवाद उन्मुख राज्यसत्तालाई परिमार्जन गरेर जेन्जी आन्दोलनपछिको सरकारले सुधारिएको सुशासनयुक्त व्यवस्थाको ढाँचामा लानथाल्दा ‘त्वम् शरणम्’ को विकल्प देखिदैन ।
वर्तमान सरकारका सुरूआती दिनका केही कदमको छनक हेर्दा पनि ‘बिहानीले दिनको आभाष दिन थालेझैं’ टिकाटिप्पणी व्यापक रूपमा देखा परिरहेको छ । दुईतिहाई नजिक पुग्न आफ्नो मत दिएका जनताको आशा र भरोसा वर्तमान सरकारप्रति यथावत् नै देखिन्छ ।
मतदानका बखत अभिव्यक्त जनताको जनादेशले उही उचाइमा निरन्तरता पाउनु भनेको सरकारका लागि सुखद् पक्ष हो । फेरि सत्ता र सरकार अन्तर्यमा संसदीय भए पनि सरकाले चालेका कदम पुरानै यथास्थिति उन्मुख देखिदैनन् । बरू केही सिर्जनात्मक र रणनीतिक पनि देखिन्छन् ।
देशको गम्भीर भूराजनीतिक अवस्थिति र वैदेशिक महाशक्तिहरूको तानातान र चलखेलको असर नेपालमा निकै पहिलेदेखि र पृथ्वीनारायण शाहको नेपाल एकीकरणको प्रारम्भदेखि नै प्रकट रूपमा देखा परिसकेको थियो । पृथ्वीनारायण शाहको दुईढुङ्गे तरूलको कुटनीति र क्रिस्तानी प्रभावको व्याख्या व्यर्थै हावादारी मजाकमा गरिएको थिएन ।
त्यसपछि राणा र ब्रिटिश सम्बन्ध, नेपाली काङ्ग्रेस र दिल्ली सम्बन्ध, पञ्चायतको अमेरिका, दिल्ली र चीनसँगको त्रिपक्षीय सम्बन्धका साथै कम्युनिष्ट पार्टी र रूसचीन सम्बन्ध यी सबै भूराजनीतिक कुटनीतिक सम्बन्ध हुन् । हाल बालेन सरकारको अमेरिकी निकट सम्बन्ध त्यही भूराजनीतिक सम्बन्धको यो वा त्यो रूप नै हो ।
नेपाल सरकार परिचालनमा अमेरिका, भारत, चीन, रूस, युरापियन युनियन र अन्य ठूला देशहरूको चिन्ता र चासो पनि कम महत्वको छैन । सरकारी कुटनीति परिचालनमा यी सबै शक्तिका चिन्ता, चासो र अन्तरविरोध बुझ्न र बहुआयामिक तथा गतिशीलतामा समाधान गर्न ‘चार कान चार आँखा’ हुनु जरूरी छ ।
आरोप प्रत्यारोप र गाली गलौजले मात्र देशको समस्या समाधान हुने र देशले गति लिने हुँदैन । देशले सबै पक्षमा गति लिन अग्रगामी चतुर रणनीतिक सोच र बहुआयामिक गतिको माग गरिरहेको छ ।
त्यसैले पुराना राजनीतिक पार्टीले पर्ख, हेर र आफूले देश र जनताका लागि गर्न सक्ने सिर्जनात्मक कदम अघि सार्ने जमर्को गर । यसमा आवेश, आक्रोश र केवल बदलिँदो समयको व्याख्याले मात्र पुग्दैन ।
कार्ल मार्क्सले भनेझैं व्यख्या गर्नु कुनै ठूलो कुरा होइन, बदल्नु ठूलो कुरा हो । नेताहरूभन्दा राम्रो व्याख्या त प्राध्यापक र राजनीतिक विश्लेषकहरूले गरिरहेका छन् । नेताले त्यही कुरा गर्नु आफ्नै बेइज्जती गर्नु हो ।
नेता भएपछि त बदल्ने कुरा गर्नुपर्छ । व्याख्यात्मक ‘सुगा रटाइ’ कसैका लागि पनि न त प्रिय छ, न त स्वीकार्य नै ! यो पुराना नेताहरूको सक्षमता र योग्यताको अन्तिम किनारा वा सीमा पनि हो । आरोप प्रत्यारोप र गाली गलौजले कसैको भलो गर्दैन ।