• बैशाख २२ २०८३, मंगलवार

पकाहा मैनपुरका वडाध्यक्ष खैरो हेरोइनसहित पक्राउ

श्रावण ४ २०७८, सोमबार

काठमाडौँ। पर्साको पकाहा मैनपुर गाउँपालिका– १ वडाध्यक्ष ‘अम्बिका’ भनिने अमेरिका सहनीसहित तीनजना लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित पक्राउ परेका छन्।

प्रहरीले उनीसँगै रहेका वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र ५१ वर्षीय रामआदेश सहनीलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

वीरगञ्जबाट पोखरियातर्फ जाँदै गरेका उनीहरूलाई साउन ३ गते राति साढे १० बजे वीरगञ्ज महानगरपालिका–१९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक दीपक थापाका अनुसार वडाध्यक्ष अमेरिकाले चलाएको ना १ ब ३५९५ नम्बरको मोटरसाइकलको फिल्टर नजिकै ७९ ग्राम लागुऔषध खैरो हेरोइन फेला परेको थियो। उनीसँगै वडा सदस्य बलिष्टर ना ६२ प १९४२ नम्बरको मोटरसाइकल चलाएर पोखरिया जाँदैथिए भने राम आदेश वडा सदस्यको मोटरसाइकलको पछाडि बसेर आएका थिए ।

प्रहरीले खैरो हेरोइन, मोटरसाइकलसहित नियन्त्रणमा लिएका तीनै जनाविरुद्ध लागु औषध मुद्दामा आवश्यक कारबाही शुरू गरिने जनाएको छ ।

प्रहरीका अनुसार वडा सदस्य बलिष्टर १ वर्ष अघिमात्रै लागुऔषध गाँजा मुद्दामा धरौटीमा छुटेका थिए भने वडाध्यक्ष अमेरिका पनि विभिन्न गैरकानुनी तथा अपराधिक गतिविधिमा संलग्न भएको रेकर्ड प्रहरीसँग छ ।