• बैशाख २२ २०८३, मंगलवार

लामो दूरीका यातायात सञ्चालन नहुँदा त्रिविका विद्यार्थी मारमा

असार ३१ २०७८, बिहीबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी साउन ५ गतेबाट त्रिवि र मातहतका क्याम्पसहरूमा परीक्षा सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको छ ।

त्रिविले उक्त तालिका सार्वजनिक गरे पनि लामो दूरीका यातायात सञ्चालन नहुँदा विद्यार्थी मारमा परेका छन् । साउन ५ गतेदेखि स्नातकतह दोस्रो वर्षको परीक्षा सञ्चालन गर्ने त्रिविले जनाएको छ । त्यस्तै उसले साउन १० गतेबाट पहिलो वर्षको परीक्षा सञ्चालन गर्नका लागि परीक्षा तालिका सार्वजनिक गरिसकेको छ । सार्वजनिक गरिएको सो तालिका बमोजिम नै परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालय ९पनिका० बल्खुले जनाएको छ । त्यस्तै पनिकाले स्नातकोत्तर तहको पनि तत्कालै परीक्षा सञ्चालनका लागि कार्यतालिका सार्वजनिक गर्नै तयारी गरेको छ ।

कोभिड–१९ संक्रमण तथा उच्च जोखिमका कारण बैशाख १६ गतेदेखि बन्दाबन्दी (लकडाउन) गरिएको छ । बन्दाबन्दी भएसँगै देशका सरकारी विद्यालय, क्याम्पस, विश्वविद्यालय तथा निजी स्तरका शैक्षिक संस्थाहरू बन्द गरिएको हो । शैक्षिक संस्थाहरू बन्द भएसँगै ठप्प पारिएका लामो दूरीका यातायात हालसम्म पनि सञ्चालनमा आउँन सकेका छैनन् । बन्दाबन्दी भएसँगै छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएका थिएनन् । यद्यपि परिस्थिति केही सहज भएपछि छोटो दूरीमा चल्ने यातायातका साधनहरू सञ्चालनमा ल्याइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

लामो दूरीका यातायात सञ्चालनमा नआएपछि यात्रुहरूले ५ गुणाभन्दा बढी भाडा तिरेर काठमाडौं पुग्ने गरेका छन् । यातायात व्यवसायीहरूको मिलेमतोमा ५ गुणाभन्दा बढी भाडा असुलेर यात्रुहरू ओसारपसार गर्ने गरेको चौतर्फी गुनासो बढ्न थालेको छ । त्यसका लागि उनीहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अतिआवश्यक काम परेको भन्दै सिफारिस लिएर यात्रु ओसार्ने गरेका छन् । तथापि यसरी गैरजिम्मेवारी भएर यातायात व्यवसायी मनपरी ढंगबाट चल्दा पनि सम्बन्धित निकाय मौन रहेको भन्दै सर्वसाधारणले गुनासो गरेका छन् ।

यस विषयमा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य भन्छन्, ‘यदि कुनै पनि यातायात व्यवसायीले यसो गरेको खण्डमा हामी कारबाही गर्छौँ । यसका लागि यातायात वयवसायी महासंघले मात्रै नियन्त्रण गर्न सक्दैन । यसतर्फ सरकारले पनि ध्यान दिनुपर्छ । यस्तो बेलामा यसरी गैरजिम्मेवार भएर जोकोही पनि प्रस्तुत हुनुहुन्न । बरु सकेसम्म लामो दूरीका यातायात सञ्चालन गर्न सरकारले पहल गरे हुन्थ्यो । यात्रुहरू निकै मारमा पर्न थाले ।’

‘सडक संघर्ष, विरोध, नारा, जुलुस, आन्दोलन हुँदा कोभिड–१९ संक्रमण हुँदैन । तर, यातायात व्यवसायीले गाडी सञ्चालनमा ल्याउँदा संक्रमण हुन्छ । लामो दूरीका यातायात बन्द गरिए पनि मानिस काठमाडौं भित्रिने र बाहिरिनेक्रम कहिल्यै रोकिएन । यात्रुहरूबाट मनपरी भाडा असुल्ने र ठगिनेक्रम पनि रोकिएको छैन । सार्वजनिक यातायात सञ्चालन हुँदा सरकारले निर्धारण गरेको भाडादर लिन्छन् । तर, निजी गाडी सञ्चालकले मनपरी भाडा असुल्छन्, कर्माचार्य थप्छन् ।

‘कर्माचार्य गुनासो पोख्दै भन्छन्, हाम्रो देशमा नियम, कानुन पर्याप्त छैन । भएको कानुन पनि लागु हुँदैनन् । यातायात छिट्टो सञ्चालनमा ल्याउनुपर्यो भनेर हामीले सीसीएमसी, मन्त्रालय, डिसीएमसी र सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई भनिसक्यौँ । केही वास्ता नै गर्नुहुन्न् । ‘सरकारले यातायात सञ्चालन गर्ने निर्णय नगरेसम्म जबर्जस्ती हामीले गाडी चलाउने कुरा पनि भएन ।’

लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउँदा सबैभन्दा बढी विद्यार्थी मारमा परेका छन् । काठमाडौंका विभिन्न सरकारी तथा निजी शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरू आउन नपाएर पढाइ नै छुटेको छ । ग्रामीण क्षेत्रमा हालसम्म पनि इन्टरनेत उपलब्ध नहुँदा उनीहरूको पढाइ छुटेको हो । तथापि काठमाडौं उपत्यकाका अधिकांश विद्यालयले अनलाइनमार्फत कक्षा शिक्षण गरिरहेका छन् । उनीहरू आफ्नो पढाइलाई निरन्तरता दिनका लागि पनि महंगो भाडा अर्थात् ६ सय तिर्नुको साटो ६ हजार तिरेर काठमाडौं आउने गरेको कर्माचार्य बताउँछन् ।

लामो दूरीका यातायात जिल्ला प्रशासन कार्यालयको सिफारिस लिएर सञ्चालन भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले बताए । दासका अनुसार, ‘यदि अति आवश्यक काम परेको छ या त विद्यार्थी नै हो भने हामीले छुट दिएका छौँ । यसका लागि अनिवार्य सम्बन्धित जिल्ला प्रशासन कार्यालय र विद्यालयबाट पास लिएको हुनुपर्छ ।’

प्रवक्ता दासले निजी गाडी वा नक्कली पास बनाएर यात्रु ओसार्ने र भाडा असुल्ने कुनै पनि यातायात व्यवसायीलाई कारबाही गरिने छ । र, हामीले कारबाही पनि गर्दै आएका छौँ । यदि हामीलाई थाहा भएसम्म चर्को भाडा असुल्ने व्यवसायी, चालक तथा सहचालकलाई कारबाही हुन्छ । यद्यपि विदेशबाट आएका नेपाली, अत्यावश्यक काम परेर आवत–जावत गर्नेलाई भने नरोकिने दास बताउँछन् ।

त्यस्तै काठमाडौं उपत्यका भित्रिने र बाहिरिने लामो दूरीका यातायातका साधन कहिलेसम्म सञ्चालनमा आउँछन् भन्ने प्रश्नमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली भन्छन्, ‘बैशाख १६ गतेदेखि लागु गरिएको बन्दाबन्दी आज (बिहीबार) राति १२ बजे सकिदैछ । अब उप्रान्त बन्दाबन्दीलाई कुन मोडालिटीमा लैजाने, यसबारेमा उपत्यकाका तीनवटै जिल्लाका प्रजिअसँग छलफल हुन्छ । र, लामो दूरीका यातायातको सम्बन्धमा निर्णय हुन बाँकी रहेकोले अहिले नै भन्न सकिदैन ।

यद्यपि स्रोतका अनुसार भोलि साउन १ गतेदेखि स्वास्थ्य सतर्कताको मापदण्ड पालना गर्ने गरि लामो दूरीका यातायातका साधन चल्न दिइने भएको छ । यसबारेमा पनि थप छलफल हुनेछ । काठमाडौं उपत्यकामा गत बैशाख १७ गतेदेखि जारी बन्दाबन्दी आज राति १२ बजे सकिने छ ।

त्यस्तै यता त्रिविले विद्यार्थीहरूलाई पास उपलब्ध गराउन नसकेकोले उनीहरूको पायक वा नजिकको केन्द्रमा परीक्षा दिन पाउने गरि व्यवस्था गर्ने बताएको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीले विद्यार्थीलाई कुनै असहज नहुने गरि सम्बन्धित जिल्लाको पायक पर्ने क्याम्पसमा केन्द्र तय गरिने बताएका छन् । लामो दूरीका यातायात सञ्चालन गर्नका लागि सरकारले नै निर्णय गर्ने भएकाले तत्काल यो सम्भव नभएकोले परीक्षा नियन्त्रण कार्यालयले यस्तो व्यवस्था गर्न लागेको हो ।