इलाम। उच्च अदालत विराटनगरको इलाम इजलासमा कार्यरत कार्यालय सहयोगी महिलाको हत्या भएको छ । सोमबार बिहान कार्यालय परिसरमा मृत भेटिएकी महिला कर्मचारी बिमलाकुमारी पराजुलीको हत्या आरोपमा प्रहरीले सो इजलासका १ नम्बर न्यायाधीशका बडीगार्ड ३५ वर्षीय युवराज बानियाँ लाई पक्राउ गरेको छ ।आइतबार दिउँसो ४ बजेतिर बानियाँले घाँटी थिचेर हत्या गरेको प्रहरीको प्रारम्भिकअनुसन्धानबाट थाहा भएको छ ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया पराजुली केही समयदेखि कार्यालय सहयोगी पदमा कार्यरत थिइन् । सोमबार बिहान अदालत परिसरमा उनको शव फेला परेको थियो ।
घटनास्थलको अनुसन्धानमा प्रहरीले तालिमप्राप्त कुकुर परिचालन गरेको थियो । कुकुरले असई युवराजलाई संकेत गरेपछि इलाम प्रहरीले उनलाई शंकाको घेरामा राखेर अनुसन्धान गरेको थियो । लेनदेन र अवैध सम्बन्धका कारण झगडा हुँदा आफुले हत्या गरेको बानियाँले स्वीकार गरेका छन् ।