• बैशाख २२ २०८३, मंगलवार

भानुभक्त आचार्यको २०८औं जन्मजयन्ती मनाइँदै

असार २९ २०७८, मंगलवार

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेख्नेको रामायण अहिले पनि नेपालीको घर–घरमा लय हालेर पाठ गरिन्छ ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भए ।

‘वधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए, ‘भोलि भोलि भन्दैमा सब घर बिति गो बक्सियोस् आज झोली ।’

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली साँस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ ।

त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । यस उपलक्ष्यमा आज बिहान काठमाडौँको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र प्रभातफेरी गर्ने कार्यक्रम रहेको जनाइएको छ । यस वर्ष पनि विगत वर्ष जस्तै कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले भौतिक दूरी आयोजना गरेर मात्र कार्यक्रम गरिने जनाइएको छ ।

सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसक्नेले भने घरघरमा उनले नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानुजयन्ती मनाउँछन् । यस अवसर भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले जुम विधिका माध्यमबाट पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।