काठमाडौं । प्रतिनिधिसभा विघटनकाे पक्ष र विपक्षमा परेका कुल ३० वटा रिटमाथिको बहस आज सकिँदैछ । आइतबार सभामुख पक्षका कानुन व्यवसायीले बहस सकाएपछि रिट निवेदक पक्षका अधिवक्ताहरुले जवाफी बहस शुरू गरेका छन् ।
उनीहरुका लागि छुट्याइएको तीन घण्टाको समयमध्ये अब दुई घण्टा मात्रै बाँकी छ । यो दुई घण्टामा आज वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले जवाफी बहस गर्ने छन् ।
उनीहरूको बहस सकिएपछि अदालतका सहयोगी (एमिकस क्युरी)ले आजै राय दिनेछन् । त्यसका लागि दुई घण्टाको समय निर्धारण गरिएको छ । उनीहरुको बहससँगै सबै सुनुवाइ सकिनेछ । यसपछि फैसलाको प्रतीक्षा हुनेछ ।
गत असार ९ गतेदेखि उक्त मुद्दामाथि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ शुरू भएको थियो ।