• बैशाख २२ २०८३, मंगलवार

घरबेटी प्रधान र शिक्षामन्त्री श्रेष्ठलाई कारवाही गर्न विप्लव निकट दलित मोर्चाको माग

असार २० २०७८, आईतवार

हेमन्त वली असार २०, दाङ ।

नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल जिल्ला समिति दाङले आज जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

असार १ गते संचारकर्मी, कलाकार एवम जात व्यवस्था उन्मुलन मोेर्चा, नेपालकी केन्द्रिय सदस्य रुपा सुनारमाथी गरिएको जातीय विभेद तथा छुवाछुतको ज्यादतिपूर्ण घटना र घटनाका दोषी घरधनी सरस्वती प्रधानलाई कार्वाहीको माग गर्दै ज्ञापन पत्र बुझाइएको छ ।

घटनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पद र शक्तिको दुरुपयोग गरी दोषीलाई थुनामुक्त गराइ आफ्नै गाडिमा निवास पुर्याएको घटनाले पुँजीवादी संसदीय व्यवस्थाको कथित संविधान र कानूनी राजको मुकुण्डो च्यातिएको स्पष्ट उल्लेख गरिएको छ । दलित मुक्ति मोर्चा नेपालका केन्द्रिय सदस्य सीता विकको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापन पत्रमा जातीय विभेद तथा छुवाछुत गर्ने घरधनि सरस्वती प्रधानलाई थुनामा राखी कानुनी कार्वाही अघि बढाउनुपर्ने, दोषीलाई संरक्षण गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदमुक्त गरी कार्वाही गर्नुपर्ने, सामाजिक संजाल एवम अनलाइन मिडियामा जातीय विभेदजन्य क्रियाकलाप गर्ने प्रकाशन गृह र पत्रकारलाई साइवर क्राइम अन्तर्गत कार्वाही प्रक्रिया अघि बढाउनुपर्ने, अनुसन्धानमा लापरबाही गर्ने र निवेदन दर्ता गर्न आनाकानी गर्ने प्रहरी प्रशासन तथा कानुनी कार्वाहीको लागि मुद्दा अगाडी बढाउन नमान्ने सरकारी वकिलहरुलाई कार्वाही गरी यथासिघ्र मुद्दा अघि बढाउनुपर्ने, सरकारले पीडित रुपा सुनारको शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्ने, देशका विभिन्न ठाउँमा घटिरहेका जातीय विभेद तथा छुवाछुतका अन्य घटनाहरुको गम्भीरतापूर्वक छानबिन गरी दोषीलाई कारवाही, पीडितलाई न्याय र क्षतिपूर्तिको उचित व्यवस्था गर्नुपर्ने जस्ता महत्वपूर्ण मागहरु राख्दै ज्ञापनपत्र बुझाइएको सो मोर्चाका सचिव केशर विकले बताए ।

ज्ञापन पत्र पेश गर्ने कार्यक्रममा नेकपा घोराही नगर इञ्चार्ज तिलक योगी, नेकपा लमही नगर इञ्चार्ज जनक लगायतका नेता–कार्यकर्ताको पनि सहभागिता रहेको थियो ।