काठमाडौं । दोस्रो पटक संसद् विघटन भए पश्चात् एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्चमा रिट दर्ता गरेका छन् । काँग्रेस, माओवादी केन्द्र, जसपा उपेन्द्र–बाबुराम र एमाले नेपाल–खनाल समूहका सांसदसहित एक सय ४६ जनाले आफ्नो हस्ताक्षरसहित रिट दर्ता गराएका हुन् ।
एमाले नेपाल–खनाल समूहका २३ जना सांसद विपक्षी गठबन्धनमा सामेल भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक तथा सांगठानिक रूपमा कमजोर बनेका छन् । उनी आफू कमजोर बनेपछि पार्टी एकताका लागि यसअघि ६ बुँदे प्रस्ताव आह्वान गरेका थिए । यद्यपि ओलीको एकता उक्त आह्वान नेपाल–खनाल समूहले अस्वीकार गरेको छ ।
सो समूहले एमाले पुरानै संरचना २०७५ जेठ २ मा फर्काउनपर्ने चट्टानी अडान राख्दै आएको छ । तर, ओलीले जेठ २ भनेर कहिले जेठ ३ त कहिले फागुन २८ मा पार्टीको संरचना फर्काउँदै आएका छन् । यसरी उनले बारम्बार नेपाल–खनाल समूहलाई एकताको नाममा झुक्काएपछि सो समूह झन् चिडिँदै गएको छ । त्यसपछि एमाले ओलीको अध्यक्षतामा हिजो (शुक्रबार) बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै नेपाल–खनाल समूहका सांसदहरूले सर्वोच्चबाट सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका छन् ।
उनले उक्त निर्देशन दिएसँगै एमाले ओली, नेपाल–खनाल समूहका दोस्रो वरियताका नेताहरू पार्टी एकताका लागि भन्दै पुनः राजधानीका विभिन्न होटल चहार्न थालेका छन् । उनीहरू प्रायः राजधानीका होटलमा अनौपचारिक भेटवार्ता र छलफल गर्दै आएका छन् । ओली समुहबाट सुवास नेम्वाङ र नेपाल–खनाल समूहबाट घनश्याम भुसाल लगायतका नेताहरूले एकता भंग हुन नदिन दिनहुँजसो भेट्ने गरेका छन् ।
दुवै समूहका नेताहरूले आज (शनिबार) ओली र नेपाललाई टेलिफोन संवादसमेत गरेका छ्न् । एकताका लागि वार्ता र संवादबाटै समाधान खोजिनुपर्ने भन्दै नेपालनिकट नेता घनश्याम भुसालले दुई नेताबीच टेलिफोन संवाद गराएको बताएका छन् । यद्यपि उक्त टेलिफोन संवाद पश्चात् वरिष्ठ नेता नेपालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीसँग एकता सम्भव नहुने बताएका छन् । ललितपुरको बालकुमारीमा आज (शनिबार) बिहान नेपालले आफूनिकट सांसदहरूसँग छलफल गर्दै यस्तो बताएका हुन् ।
केही दिनअघि कार्यदलले गरेका सहमतिबाट ओली पछि हटेकाले उनीसँग संवाद गर्नसमेत मूड नभएको नेपालले बताए । उनले आफ्ना सांसदहरूसँग ब्रिफिङ गर्दै भने, ‘ओलीजीले हामीलाई झुक्काइरहनु भएको छ । तैपनि हाम्रा साथीहरू उहाँ सहमतिमा आउनु हुन्छ कि भनेर पछि लाग्नु भएको छ र सर्वोच्चबाट हस्ताक्षर फिर्ता लिने नलिने कुरा पार्टीको एकतासँग सम्बन्धित कुरा पनि हैन, यही अवस्थामा ओलीसित मिल्न जानु भनेको मृत्युपाश )मृत्युको पासो)मा पर्न जानु हो ।’
आज (शनिबार) स्थायी कमिटी सदस्यबाहेक काठमाडौंमा भएका सांसदहरूसँग नेता नेपालले चार घण्टा लामो छलफल गरेका छन् । उक्त छलफलमा सहभागी सांसदहरूले पनि ओलीसँग तत्काल पार्टी एकता गर्न नसकिने बताएका छन् । पार्टी एकता चाहेकै हो भने आफूहरूले यसअघि सारेको ६ बुँदे प्रस्तावको स्पष्ट आधारमा सहमतिको खाका तयार गर्न नेता नेपालले ओलीलाई आग्रह गरेको नेता भुसालले बताए ।
ओलीले आफूलाई एकताको नाममा बारम्बार झुक्काएकोले उनीसँग एकता गर्नु नै मृत्युपाशमा पर्न हो । यसबाट हामी सचेत छौँ । साँच्चिकै ओलीले एकता चाहेको भने एमाले पार्टीको संरचना २०७५ जेठ २ मा अनिवार्य फकाउनै पर्छ । अन्यथा हामी पार्टी एकता गर्न असमर्थ हुनेछौँ । ओलीको यो खेलाची जालसाजीलाई आधार मानेर एकता गर्नु नै मृत्युपाशमा पर्नुबाहेक अरू केही हुन सक्दैन ।