• बैशाख २१ २०८३, सोमबार

शुक्रबारदेखि छोटो तथा लामो दुरीका सबै गाडी चलाउने तयारी

असार १७ २०७८, बिहीबार

काठमाडौं । यातायात व्यवसायीहरूले प्रशासनको निर्देशन अवज्ञा गरेर सबै किसिमका गाडी चलाउने भनेर दिएको म्याद तीन दिन पर सरेको छ ।

काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग संयुक्तरूपमा आज भएको छलफलपछि व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिहरू आउँदो आइतबारसम्म पर्खिन सहमत भएका छन् ।

यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिहरूले शुक्रबारदेखि छोटो तथा लामो दुरीका सबै गाडी चलाउने भनेर काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएका थिए । यता तीन वटै जिल्ला प्रशसनले गत १५ गतेदेखि जोरबिजोरका आधारमा २५ सिट क्षमताभन्दा माथिका स्थानीय गाडीमात्रै चलाउन संयुक्त निर्देशन जारी गरेका थिए ।

बिहीबार जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा काठमाडौँ, ललितपुर र भक्तपुर, तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिहरूसँग छलफल गरेका थिए । कोभिड संक्रमण अहिलेको भन्दा नबढे सोमबारदेखि लामो, मध्यम तथा छोटो दुरीका सबै गाडी चल्नेछन् ।