काठमाडौं । यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएको आरोपमा आठजना पक्राउ परेका छन् ।
काठमाडौं बाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा तेब्बर बढी भाडा लिई ठगी गरेको पाइएपछि ६ जनालाई नयाँ बसपार्कबाट र दुई जनालाई कोटेश्वरबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा दाङका ३५ वर्षीय सन्तोष दमाई, ३८ वर्षीय कुशलराम बस्नेत, २८ वर्षीय गिमबहादुर गाहामगर, रूपन्देहीका ३६ वर्षीय दीपनारायण थापा, कपिलवस्तुका ४४ वर्षीय शिवलाल घिमिरे र मोरङका ३१ वर्षीय युवराज ढकाल रहेका छन् । नयाँ बसपार्कबाट नियन्त्रणमा लिइएका उनीहरूलाई आवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ ।
यस्तै काठमाडौंबाट बा १६ च २१८४ नम्बरको निजी गाडीमा उदयपुरसम्म लैजान भनी यात्रुसँग भाडा लिएको आरोपमा कोटेश्वरबाट उदयपुरका २९ वर्षीय राकेश रसाइली पक्राउ परेका छन् ।
यसैगरी चावहिलबाट २५ वर्षीय झनकबहादुर घिमिरेलाई पनि ट्राफिक प्रहरीले पक्राउ गरेको छ । घिमिरेले ना १ ज ७०२९ नम्बरको टाटा सुमोमा सोलुखुम्बु जाने यात्रुसँग बढी भाडा लिएको पाइएपछि पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
निषेधाज्ञापछि हालसम्म उपत्यका बाहिर जाने यात्रुसँग आठ गुणा बढीसम्म भाडा लिई ठगी गर्ने ६१ जना काउण्टरका कर्मचारीहरुलाई पक्राउ गरी कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।