• बैशाख २१ २०८३, सोमबार

मानव बेचविखन नियन्त्रण गर्न एक महिने अभियान शुरु

असार १५ २०७८, मंगलवार

काठमाडौं । मानव बेचविखन नियन्त्रण गर्न एक महिने अभियान शुरु भएको छ ।

मानव बेचविखनविरुद्ध स्कलर्स स्पेसले एक महिने अभियान थालेको हो ।

बेचविखन रोक्न तथा बेचविखनमा परेकाहरुलाई न्याय दिने उद्देश्यका साथ सो अभियानको शुरुआत गरिएको हो ।

भर्चुअल माध्यमबाट आज एक कार्यक्रमको आयोजना गरी सो अभियान शुरु गरिएको स्कलर्स स्पेसका मुख्य कार्यकारी अधिकृत रोहित सेन्चुरी सुनारले जानकारी दिए ।

छलफलमा देशभरीबाट एक सय जनाभन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरो, माइती नेपाल, सिस्टरहुड नेपाल र आफन्त नेपालसँगको सहकार्यमा सो अभियान थालिएको हो ।

मानव बेचबिखन न्यूनीकरण गर्न युवाको विशेष भूमिका हुने भन्दै उनीहरुलाई सचेत गराउन जरुरी रहेको सुनारले बताए । छलफल र तालिमका माध्यमबाट युवामार्फत समाजमा सकारात्मक सन्देश जाने उनको भनाइ छ ।

सचेतना अभियानलाई फरक र प्रभावकारी ढङ्गबाट गर्न खोजिएको स्कलर्स स्पेसका मुख्य बजार अधिकृत धिरज पौडेलले जानकारी दिए । एक महिने अभियानका क्रममा मानव बेचबिखन विरुद्ध जागरुकता फैलाउनका लागि समाजमा उल्लेख्य भूमिका निर्वाह गरेका व्यक्तिहरुसित अन्तरक्रिया तथा समूहमा छलफल गरिने उनले बताए ।

समाजलाई केही दिनुपर्छ भन्ने उद्देश्यका साथ युवाहरुको समूहले अभियान थालेका हुन् । तालिममा सहभागीबाट सङ्कलन भएको रकम आगामी साउन १५ गते अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसका दिन माईती नेपाललाई हस्तान्तरण गरिने उनले जानकारी दिए ।