काठमाडौं । २० वैशाखदेखि बन्द रहेको आन्तरिक उडान आगामी बिहीबार (असार १७ गते) देखि सुचारु हुँदैछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानतर्फ दैनिक ६४ वटा उडान गरिने तालिका तयार पारेको छ ।
प्राधिकरणका अनुसार प्रतिघण्टा ५ वटा मात्र उडान हुनेछ । यसका साथै प्राधिकरणले उक्त तालिका तयार पारेसँगै वायुसेवा कम्पनीहरुले टिकट बुकिङको तयारी गरिसकेका छन् ।
प्राधिकरणले उडान गर्न पाउने एयरहरुको नाम पनि तयार गरेको छ । प्राधिकरणले तयार पारेको तालिकाअनुसार बुद्ध एयर (दैनिक ३१ उडानको अनुमति), यति एयरलाइन्स (१५ उडान), श्री एयरलाइन्स (७ उडान, सौर्य एयरलाइन्स (३ उडान), तारा एयर र समिट एयर रहेका छन् ।
यस्तो छ, उडान संख्याको तालिका
प्राधिकरणको तालिकाअनुसार काठमाडौंबाट बुद्ध एयरले विराटनगरका लागि दैनिक चार वटा उडान भर्न पाउनेछ । त्यस्तै, तुम्लिङटार र सुर्खेतका लागि एक उडान, भद्रपुरका लागि तीन उडान, सिमरामा दैनिक तीन, जनकपुरमा दैनिक तीन, भैरहवामा तीन, पोखरामा तीन, भैरहवामा पाँच, नेपालगञ्जमा तीन र धनगढीमा दुई उडान गर्ने व्यवस्था मिलाइएको छ ।
यती एयरलाइन्सले विराटनगरमा तीन, जनकपुरमा दुई, सिमरामा दुई, भद्रपुरमा दुई, पोखरामा दुई, भैरहवामा दुई, नेपालगञ्जमा दुईवटा उडान गर्ने अनुमति पाएको छ ।
श्री एयरलाइन्सले काठमाडौंबाट विराटनगरमा एक, भैरहवामा एक, भद्रपुरमा दैनिक एक, नेपालगञ्जमा र धनगढीमा दैनिक दुई/दुई उडान गर्न दिइएको छ ।
सौर्य एयरले काठमाडौंबाट विराटनगर, भद्रपुर र भैरहवाका लागि एक÷एक उडान गर्न पाउनेछ ।
यसैगरी काठमाडौंबाट विकट जिल्ला लुक्का, फाप्लु, डोल्पा र सिमकोट विमानस्थलतर्फ दैनिक ८ उडान तोकिएको छ । जसअन्तर्गत समिट, तारा र सीताले त्यसतर्फ उडान भर्नेछन् ।