• बैशाख २१ २०८३, सोमबार

राष्ट्रपतिको लिखित जवाफले संविधानलाई चुनौती दियो : भीमार्जुन आचार्य

असार १३ २०७८, आईतवार

काठमाडौँ। संविधानविद तथा वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानलाई चुनौती दिएको बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्धको बहसमा संविधानविद् आचार्यले राष्ट्रपतिबाट संविधानलाई चुनौती भएको बताएका हुन् ।

विश्वासको मत लिन नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि प्रधानमन्त्रीमा दाबी गर्नु संविधान विपरित भएको उनले बताए । संविधानका सबै धारा प्रयोग गरेर ओली नै प्रधानमन्त्री बनिरहन पाउँछन् ? भन्दै उनले प्रश्न गरेका छन् ।

‘प्रधानमन्त्रीको पद रिक्त नभएको अवस्थामा वैकल्पिक सरकार खोज्ने संविधानले परिकल्पना नै गरेको छैन । त्यसैले विश्वासको मत लिन नसकेको अवस्थामा मात्र प्रधानमन्त्री पद मुक्त हुन्छन्’ संवैधानिक इजलासमा संविधानविद आचार्यले भने, ‘एउटै व्यक्ति संविधानको सबै धारा अनुसार प्रधानमन्त्री हुनपाउछ भन्ने हुन्छ ? संविधानको धारा ७६(५) र (२) फरक छ श्रीमान । (५) मा बहुमत प्राप्त गर्नसक्ने सदस्य भनिएको छ। (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थन भनिएको छ ।’

संविधानका सबै धारालाई प्रयोग गर्न खोजेर ओलीलाई नै प्रधानमन्त्री बनाइरहने राष्ट्रपतिले संविधानलाई  चुनौती दिएको आचार्यको तर्क छ । ‘राष्ट्रपतिको लिखित जवाफलाई मान्ने हो भनेसंविधानलाई चुनौती दिएको देखिन्छ’ उनले भने ।