काठमाडौं । सार्वजनिक यातायात सञ्चालनका लागि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु सकारात्मक भएका छन् ।
करीब दुई महिनादेखि बन्द रहेको सार्वजनिक यातायात असार १४ गते पछि स्वास्थ्य मापदण्ड अपनाएर नयाँ मोडालिटीका साथ यातायात सञ्चालन गर्ने तयारीका साथ सम्बन्धित निकायहरुसँग छलफल र परामर्ष शुरु गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीले जानकारी दिए ।
बिहीबार स्वास्थ्य मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात मजदुर, यातायात व्यवसायी र प्रमुख जिल्ला अधिकारीहरु विच यातायात सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको थियो ।
छलफलका क्रममा व्यवसायीहरुले भने हवाई सेवा असार १७ गते देखि सञ्चालन हुने र पसल तथा बजारहरु समेत खुल्ला भएको भन्दै तत्काल सार्वजनिक यातायातलाई समेत सञ्चालन गर्नु पर्ने माग गरेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीले बताए । लामो तथा छोटो दुरीका यातायात सञ्चालन गरी अर्थतन्त्रलाई समेत विस्तारै चलायमान बनाएर लैजानुको विकल्प नभएको व्यवसायीहरुको सुझाव छ ।