• बैशाख २१ २०८३, सोमबार

बलात्कार प्रतिकार गर्दा सुब्बाको हत्या, आरोपी सार्वजनिक

असार १० २०७८, बिहीबार

काठमाडौँ। युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाले बिहीबार पत्रकार सम्मेलन गरेर अभियुक्त तिमल्सिनालाई सार्वजनिक गरेको हो ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ घर भइ दक्षिणकाली नगरपालिका ७ बस्ने २९ वर्षीय सुरेशले सन्तोषीको हत्या गरेको खुलेपछि असनबाट पक्राउ गरिएको उपत्यकाका अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए।

सामाजिक सञ्जालमा विभिन्न पशुपन्छीको आवाज निकालेर चर्चामा आएकी सन्तोषी सुब्बाको मंगलबार बिहान दक्षिणकालीको मन्दिर नजिकको एक सार्वजनिक शौचालयमा शव फेला परेको थियो । एसएसपी खापुङका अनुसार सुब्बाको घाँटी थिचेर हत्या गरेको र पछि अनुहार क्षतविक्षत हुने गरी प्रहार गरेको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले निज तिमल्सिनासँग सन्तोषी सुब्बाले खाना खाने र बासको समस्या भएको बताएपछि सुरेशले आफूले काम गर्ने बसमा बास मिलाइदिन्छु भनी घटनास्थलतर्फ लगि जबरजस्ती गर्ने क्रममा सुब्बाले प्रतिकार गरेपछि निजले घाँटी थिची सलले घाँटीमा बेरेर हत्या गरेका थिए । निजले हत्यापछि शव नचिनियोस् भनेर ढुङ्गाले अनुहारमा पटक पटक प्रहार गरेको पाइएको प्रहरीले बताएको छ।